Logo १ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 13 2026


पूर्वराजा शाहको स्वागतमा त्रिभुवन विमानस्थलमा समर्थकको भीड (तस्बिरसहित)


429
Shares

काठमाडाैं । पूर्वराजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको मुख्य गेटबाहिर समर्थकहरूको ठूलो भीड जम्मा भएको छ ।

पूर्वराजा शाह शुक्रबार झापा भ्रमण सकेर काठमाडौंमा आइप्ग्नुभएकाे हाे । साेही क्रममा पूर्वराजा शाहलाई राजावादी तथा राष्ट्रवादी समूहहरूका कार्यकर्ताहरूले राष्ट्रिय झण्डा फहराउँदै, विभिन्न नारा लगाउँदै स्वागत गरेका थिए । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईसहित राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा लगायतका व्यक्तिहरू पनि विमानस्थल पुगेर स्वागतमा सहभागी भएका छन् ।

पूर्वराजा शाहको आगमनलाई लिएर विमानस्थल आसपास सुरक्षा व्यवस्था कडा पारिएको थियो । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विमानस्थल क्षेत्रमा एक महिनाका लागि निषेधाज्ञा जारी गर्दै पाँच जना भन्दा बढी भेला हुन नपाउने आदेश जारी गरेको भएपनि समर्थकहरूले निषेधाज्ञा छलेर भीड जम्मा गरेका छन् ।

प्रहरीले विमानस्थलदेखि निर्मल निवाससम्मको क्षेत्रमा उच्च शतर्कता अपनाएको हाे । एसपीको कमान्डमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ । समर्थकहरूले ‘राजा आऊ, देश बचाऊ’ जस्ता नारा लगाइरहेका छन् । केहीले पूर्वराजा शाहको गाडी देख्नासाथ हात हल्लाएर अभिवादन गरेका हुन् ।