काठमाडौं । दैलेखमा ८० अर्ब ७० करोड घनमिटर ग्यास परिमाणमा खनिज ग्यासको भण्डारण रहेको पुष्टि भएको छ ।
भैरवी गाउँपालिका–१ जलजलेमा चीनको ‘चाइना जियोलोजिकल सर्भे’ कम्पनीले नेपाल सरकारलाई बुझाएको अन्तिम अन्वेषण प्रतिवेदन अनुसार जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण रहेको पाइएको हो । खानी तथा भूगर्भ विभागका प्रवक्ता धर्मराज खड्काले चिनियाँ टोलीको विस्तृत अध्ययनपछि यो तथ्याङ्क सार्वजनिक गरिएको बताउनुभयो। यसअघिको प्रारम्भिक प्रतिवेदनमा यो क्षेत्रमा १ अर्ब १२ करोड घनमिटर ग्यास हुनसक्ने अनुमान गरिएको थियो । थप परीक्षण र अन्तिम अध्ययनले पूर्वअनुमान भन्दा निकै ठूलो परिमाणमा ग्यास रहेको प्रमाणित गरेको उहाँले बताउनुभयो ।
भण्डारण पुष्टि भए पनि यसको व्यावसायिक उत्पादन र उत्खनन क्षमताको वास्तविक जानकारी भने ‘वेल टेस्टिङ’ पछि मात्र प्राप्त हुने विभागले जनाएको छ । उहाँका अनुसार अबको चरणमा ‘ड्रिल’ गरिएको ठाउँमा अन्य उपकरण प्रयोग गरी चट्टान फुटाउने वा प्राकृतिक ग्यासलाई विस्थापित गर्ने प्रक्रिया अपनाइनेछ । त्यसपछि निस्कने ग्यासमा भएका तत्त्वको प्रयोगशाला परीक्षण गरिनेछ र मात्र व्यावसायिक उत्पादनको प्रक्रिया अघि बढ्ने उहाँले जानकारी दिनुभयो ।
नेपाल सरकार र चीनको जियोलोजिकल सर्भेबीच २ अर्ब ४० करोड रुपैयाँको आर्थिक तथा प्राविधिक सहयोगमा पेट्रोलियम खानी अन्वेषण गर्ने सम्झौता भएको थियो । जस अनुसार चिनियाँ टोलीले सेस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटोटेल्युरिक सर्भे र जियोकेमिकल सर्भे सम्पन्न गरिसकेको विभागका प्रवक्ता खड्काले जानकारी दिनुभयो ।
अहिले प्राप्त अन्तिम प्रतिवेदनमाथि विभागले थप अध्ययन गरिरहेको छ । साथै बाँकी कामका लागि अनुदान सहयोग गरिदिन नेपाल सरकारले चीन सरकारलाई आग्रह गरेको गरिएको हो। विज्ञहरूका अनुसार दैलेखमा फेला परेको ग्यास अमेरिकामा उत्खनन गरिने ‘शेल वा टाइट ग्यास’ प्रकृतिको छ । यस्तो ग्यास चट्टानका पत्रमा च्यापिएर रहने भएकाले यसलाई निकाल्न निकै कठिन हुन्छ ।
व्यवसायिक प्रयोजनका लागि निकाल्न चट्टान फोडेर ग्यास निकाल्नुपर्ने चुनौती छ । दैलेखमा परापूर्वकालदेखि ज्वाला बल्दै आएका श्रीस्थान, नाभीस्थान, पादुका र तल्लो डुङ्गेश्वर क्षेत्रलाई आधार मानेर २०७६ सालको असोजदेखि अन्वेषण शुरू भएको थियो । यहि फागुन २१ गते हुन लागेको चुनावमा पनि दैलेखका राजनीतिक दलले यो ग्यास उत्खननलाई आफ्नो मुख्य चुनावी एजेन्डा बनाएका छन् ।






प्रतिक्रिया दिनुहोस्