Logo २९ माघ २०८२, बिहिबार | Thu Feb 12 2026


पशुपतिमा महाशिवरात्रिको तयारी अन्तिम चरणमा


0
Shares

काठमाडौं ।

महाशिवरात्रिको लागि पशुपति मन्दिर क्षेत्रमा तयारी सम्पन्न भएको छ । महाशिवरात्रिको अवसरमा पशुपति दर्शनका लागि सहज व्यवस्था मिलाउन चार बाटोको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले जानकारी दिएको छ ।

कोषले बिहीबार पत्रकार सम्मेलन गरी बत्तीस पुतली–गौशालाबाट पिंगलास्थान हुँदै धर्मशालालाई बायाँ पारेर चार शिवालय पञ्चदेवल भई दक्षिण ढोकाबाट प्रवेशको व्यवस्था मिलाइएको जनाएको छ । एयरपोर्टतर्फबाट तिलगंगा–राममन्दिर हुँदै वाग्मती तरेर पूर्वढोकाबाट प्रवेश गर्ने दर्शनार्थीको लागि सोही ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक सुवासचन्द्र जोशीले जानकारी दिए ।

उनका अनुसार, जोरपाटी, कपन, महाँकाल, चाबहिल तर्फबाट आउने भक्तजनहरूको लागि मित्रपार्क, गौरीघाट हुँदै उत्तरढोकाबाट प्रवेश गराई दर्शन गराउने र सोही ढोकाबाट बाहिर फर्किने व्यवस्था मिलाइएको छ । उनले रातोपुल, कालोपुल, सिफलबाट आउने भक्तजनको लागि जयवागेश्वरी मन्दिर अगाडिको मछिन्द्र गणेश, दथुटोल हुँदै भूवनेश्वरीको सानो ढोकाबाट प्रवेश गराई शंकराचार्य मठ पूर्वतर्फको आकाशेपुल हुँदै पश्चिम सानो ढोकाबाट प्रवेश गराई पश्चिमतर्फको मूल ढोकाबाट बाहिर निस्कने व्यवस्था मिलाइएको बताए ।

जोशीले दर्शनमार्ग, मेला क्षेत्र र दर्शनार्थीको सुरक्षाका लागि मूल शिविरमा कमान्ड पोस्टसहितको सञ्चार सेवासहितको प्रहरी नियन्त्रण कक्ष स्थापना गरिएको पनि बताए । उनले आवास–भोजनस्थल, पार्किङ स्थल, जुत्ता चप्पल कक्ष एवम् गोरखनाथ, सिफल, तिलगंगा, वनकाली, कैलाश, राममन्दिर, उमाकुण्ड, वेदविद्याश्रम, घाट क्षेत्रलगायत स्थानमा नेपाल प्रहरीको सब–कमान्ड पोस्ट स्थापना गरी दर्शनार्थी एवम् तीर्थयात्रीको सुरक्षा व्यवस्था मिलाइएको बताए ।

उनका अनुसार, पशुपति मासु, मदिरा निषेधित क्षेत्र भएकाले मासु, मदिरा तथा अन्य लागुपदार्थको बेचबिखन नियन्त्रण गर्न प्रहरी परिचालन गरिने बताए । मेलामा स्वास्थ्य शिविर, पानीको व्यवस्था, स्वयंसेवक परिचालन गरिनेछ । यस वर्षको महशिवरात्री फागुन ३ गते आइतबार मनाइँदै छ ।