काठमाडाैं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्माले नेपालमा सडक सुरक्षा प्रमुख चुनौतीका रूपमा उभिएको बताउनुभएको छ ।
उपत्यकाका ट्राफिक प्रहरी कार्यालयले बिहीवार आयोजना गरेको सडक सुरक्षा कार्यशालामा उहाँले सडक सुरक्षा चुनौतीपूर्ण बन्दै गएको बताउनुभएको हो । यातायातको माध्यमबाट जीवन सहज बनाउने र विकासको गतिलाई अगाडि बढाउने पूर्वशर्त सडक यातायात भएपनि सडक सुरक्षाको विषय निकै संवेदनशील बन्दै गएको उहाँको भनाई छ । विशेष गरी एशियाली तथा विकासोन्मुख देशहरूमा ट्राफिक व्यवस्थापन र सुरक्षाको समस्या गम्भीर रहेको उहाँले बताउनु भयो । सचिव शर्माले ट्राफिक सुरक्षा कुनै एक पक्षको प्रयासले मात्र सम्भव नहुने स्पष्ट पार्दै रोड सेफ्टी काउन्सिल गठनको आवश्यकता रहेको बताउनु भयो । उहाँले धेरै पहिलेदेखि रोड सेफ्टी काउन्सिल गठन गर्न प्रयास गरिरहेको भएपनि सफल हुन नसकेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री वा मन्त्रीको नेतृत्वमा काउन्सिल गठन गर्नको लागि अर्थ मन्त्रालयलाई पटक–पटक आग्रह गरेको भएपनि अहिलेसम्म गठन हुन नसकेको उहाँको भनाई छ । यसको लागी सुरक्षा निकाय, निजी क्षेत्र, यातायात व्यवसायी लगायत सबै पक्षले वकालत गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । उहाँले मन्त्रालयले गर्नुपर्ने नीतिगत सुधार गरिरहेको पनि जानकारी दिनुभयो । ट्रान्सपोर्ट नीतिको मस्यौदा तयार गरिसकेको उल्लेख गर्दै उहाँले रोड सेफ्टी एक्ट, रोड सेफ्टी रेगुलेशन र रोड सेफ्टी एक्शन प्लानको मस्यौदा पनि तयार अवस्थामा रहेको जानकारी दिनुभयो । तर कार्यान्वयन चरणमा समस्या रहेको उहाँले स्वीकार गर्नुभयो ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौलाले तीन तहका सरकारबीच कानूनी असमानताले सार्वजनिक यातायात क्षेत्र प्रभावित भएको बताउनुभयाे । उहाँकाअनुसार संघीय सरकारले बनाएको कानूनभन्दा फरक–फरक कानून तल्लो तहका सरकारले बनाउँदा सार्वजनिक यातायात क्षेत्र ठूलो चपेटामा परेको छ । यसले दुर्घटना बढाउन सहयोग गरेको उहाँको आरोप छ । सिटौलाकाअनुसार सडक निर्माणमा समेत तीन तहबीच समन्वय अभाव देखिएको छ । उहाँले काठमाडौं उपत्यकामा सवारी चाप तिब्र रूपमा बढ्दै गएको र दुई पाङ्ग्रे सवारी सबैभन्दा धेरै वृद्धि भएको बताउनु भयो । सवारी साधन दर्ता, इजाजत र रुट परमिट दिने निकायहरूले जथाभावी अनुमति दिँदा समस्या झन् जटिल बनेको उहाँको आरोप थियो । पहाडी जिल्लामा समेत तीन पाङ्ग्रे टेम्पो सञ्चालनको लागी इजाजत दिइएको उहाँको भनाई छ । यस्तो अनुमति दिन मिल्छ कि मिल्दैन भन्ने विषयमा गम्भीर समीक्षा आवश्यक रहेको उहाँले बताउनुभयो ।
काठमाडौं उपत्यकाका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले तिब्र शहरीकरण, जनघनत्व वृद्धि र सवारी साधनको निरन्तर विस्तारले यातायात व्यवस्थापन प्रणालीमा असाधारण दबाब सिर्जना गरेको बताउनु भयो । सडक पूर्वाधार विस्तार, सार्वजनिक यातायात सुदृढीकरण तथा प्रविधिमैत्री ट्राफिक व्यवस्थापन सवारी वृद्धिदरसँग समानान्तर हुन नसक्दा ट्राफिक जाम, सवारी दुर्घटना, प्रदूषण, अव्यवस्थित पार्किङ तथा अनुशासनहीन सवारी सञ्चालन जस्ता समस्या बढ्दै गएको उहाँको भनाइ थियो ।
उहाँले ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको लागि कार्यलयले सचेतना लगायतका कार्यहरु गर्दै आएको जानकारी दिनुभयो । कार्यशालामा सहभागीहरूले सडक सुरक्षालाई प्रभावकारी बनाउन एकीकृत नीति, कडा कार्यान्वयन र सबै सरोकारवालाबीच समन्वय आवश्यक रहेकोमा जोड दिएका छन् ।






प्रतिक्रिया दिनुहोस्