Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


ताप्लेजुङमा चुनावी सरगर्मी बढ्यो, उम्मेदवार घरदैलोमा व्यस्त


26
Shares

ताप्लेजुङ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा चुनावी सरगर्मी बढ्दै गएको छ ।

पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा उम्मेदवारहरू आफ्ना नेता–कार्यकर्तासहित घरदैलो तथा भेटघाट अभियानमा सक्रिय भएका छन् ।

यसपटक ताप्लेजुङबाट नेपाली काँग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीसहित १३ दलका १३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । मतदाताको समर्थन जुटाउन उम्मेदवारहरू गाउँ–बस्ती केन्द्रित अभियानमा व्यस्त छन् ।

जिल्लाका ६१ वडामध्ये काँग्रेसले २९ वडामा घरदैलो कार्यक्रम सम्पन्न गरिसकेको छ । काँग्रेसबाट गजेन्द्रप्रसाद तुम्याहाङ उम्मेदवार रहनुभएको छ । नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे ३१ भन्दा बढी वडामा पुगिसक्नुभएको छ भने नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्री ३० भन्दा बढी वडामा पुग्नुभएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विरेन्द्र श्रेष्ठले ३५ वडामा घरदैलो भेटघाट गरिसक्नुभएको छ ।

अन्य दलका उम्मेदवारहरू पनि घरदैलो अभियानमा सक्रिय छन् । चुनावको मिति नजिकिँदै जाँदा जिल्लामा चुनावी माहोल थप तातेको छ । मतदाताहरूले उम्मेदवारहरूसँग सडक, खानेपानी, स्वास्थ्य सेवा, रोजगारी तथा विकास निर्माणका विषयमा चासो राखेका छन् भने दिगो विकास र स्थिरताको चाहना व्यक्त गरिरहेका छन् ।