Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


अख्तियारका प्रमुख राईलाई धम्की दिने प्रकाश पाठकलाई काठमाडाैं ल्याइयो


754
Shares

काठमाडाैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेमकुमार राईसहित उच्च पदस्थ १० जनालाई धम्की दिने प्रकाश पाठकलाई इन्टरपोलको सहयोगमा पक्राउ गरी नेपाल ल्याइएको छ। काभ्रेपलाञ्चोक घर भएका पाठकलाई बुधबार नेपाल ल्याइएको काठमाडौंका एसएसपी रमेश थापाले जानकारी दिए।

पाठकविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) मार्फत डिफ्युजन नोटिस जारी गरिएको थियो। नोटिस जारी भएपछि उनी फिलिपिन्समा लोकेट भएका थिए। सामाजिक सञ्जाल फेसबुकमार्फत भिडियो र अडियो सन्देश सार्वजनिक गर्दै उनले अख्तियार प्रमुख राईसहित विभिन्न उच्च पदस्थ व्यक्तिहरूलाई धम्की दिएका थिए।

प्रहरीका अनुसार आफूलाई उग्रवादी संगठनको अध्यक्ष दाबी गर्ने पाठक भारत र इन्डोनेसिया हुँदै फिलिपिन्स पुगेका थिए। उनलाई नियन्त्रणमा लिन नेपाल प्रहरीको इन्टरपोल शाखाका एसपी रुपेश खड्का र जिल्ला प्रहरी परिसर काठमाडौंका एक जना इन्स्पेक्टर फिलिपिन्स गएका थिए। नेपाल ल्याइएपछि पाठकमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।