Logo २८ माघ २०८२, बुधबार | Wed Feb 11 2026


कांग्रेसले निर्वाचनमा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने सभापति थापाकाे घोषणा

'हरेक ३० दिनमा प्रधानमन्त्रीले जनतालाई हिसाब बुझाउनुपर्छ'

208
Shares

काठमाडाैं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी निर्वाचनमा पार्टीले परम्परागत ‘घोषणा पत्र’ को सट्टा ‘प्रतिज्ञा पत्र’ सार्वजनिक गर्ने घोषणा गर्नुभएको छ ।

सिरहामा आयोजित एक चुनावी सभालाई सम्बोधन गर्दै उहाँले अबको राजनीति ५ वर्षे योजनामा मात्र सिमित नभई दैनिक कार्यसम्पादन र जवाफदेहितामा आधारित हुनुपर्नेमा जोड दिनुभएकाे हाे । सभापति थापाले प्रश्तावित नयाँ सरकारी मोडेलका बारेमा चर्चा गर्दै आगामी फागुनमा चुनाव र चैतमा सरकार बनेपछि वैशाख १ गतेदेखि नै प्रधानमन्त्रीले जनताका नाममा जवाफदेहिताको नयाँ अध्याय शुरु गर्ने बताउनुभयो । सभापति थापाले कांग्रेसको सरकार बन्दै गर्दा प्रधानमन्त्रीले ५ वर्षको अमूर्त कुरा नगर्ने स्पष्ट पार्नुभएकाे छ ।

सभापति थापाले हरेक ३० दिनमा प्रधानमन्त्री देशवासीको सामु उभिएर गएको महिना के काम भयो र के हुन सकेन भन्ने स्पष्ट हिसाब दिने दावी समेत गर्नुभयाे । काठमाडौंको आफ्नो सुरक्षित मानिने निर्वाचन क्षेत्र छाेडेर मधेशको भित्री भेग सर्लाही–४ बाट चुनावी मैदानमा उत्रिनुको कारण प्रस्ट्याउँदै उहाँले मधेश नबुझी देशको सफल नेतृत्व गर्न असम्भव रहेको बताउनुभयो । पहाडमा जन्मिएको र शहरमा हुर्किएको हुनाले आफूले ती क्षेत्रको दुःख र सुख बुझेको बताउँदै उहाँले मधेशका मुद्दालाई काठमाडौंको ‘स्थायी सत्ता’ सँग जोड्न आफू सर्लाही गएको बताउनुभयो ।

सभापति थापाले ५–५ वर्षमा भोट माग्न मात्र आउने र त्यसपछि बेपत्ता हुने राजनीतिक प्रवृत्तिलाई अन्त्य गर्दै नयाँ कार्यशैलीका साथ अघि बढ्ने संकल्प समेत व्यक्त गर्नुभयो ।