Logo २७ माघ २०८२, मंगलबार | Tue Feb 10 2026


भ्रष्टाचारको अवस्था उस्तै : ट्रान्सपरेन्सी इन्टरनेशनल


0
Shares

काठमाडाैं । नेपालले भ्रष्टाचार नियन्त्रणमा कुनै ठोस प्रगति गर्न नसकेको प्रतिवेदनले देखाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल (टीआई) ले आज सार्वजनिक गरेको भ्रष्टाचार धारणा सूचकाङ्क (सीपीआई) २०२५ काअनुसार नेपालको भ्रष्टाचारसम्बन्धी सूचकाङ्क यथावत नै रहेको छ ।

नेपालको स्थिति गत वर्षकै यस वर्ष पनि ३४ अङ्कमै सीमित भएको छ । ६ वटा अन्तर्राष्ट्रिय संस्थाले सन् २०२५ को अगस्टसम्म उपलब्ध सुशासनसम्बन्धी तथ्याङ्कका आधारमा नेपालको स्कोर निर्धारण गरेको टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले जानकारी दिनुभयो । उहाँकाअनुसार लामो समयदेखि नेपालले ३५ भन्दा कम अङ्क प्राप्त गर्दै आएको छ । सूचकाङ्कमा १०० अङ्कले भ्रष्टाचार रहित र शुन्य अङ्कले अत्याधिक भ्रष्ट अवस्थालाई जनाउँछ ।

सन् २०२५ मा विश्वका दुई तिहाइ देशले १०० मा ५० भन्दा कम अङ्क प्राप्त गरेका छन्, जसले ती देशहरू भ्रष्टाचार नियन्त्रण गर्न असफल रहेको संकेत गर्दछ । नेपालले अङ्क प्राप्त गर्नुले नेपाललको सत्तामा आएकाहरुले भ्रष्टाचारविरुद्ध प्रभावकारी काम गर्न नसकेको पुष्टि गरेको अध्यक्ष शर्माले बताउनु भयो ।

भदौ २३ र २४ मा देखिएको जेन–जी आन्दोलन तथा मुलुकले व्यहोरेको अपूरणीय धन–जन क्षतिको मूल कारणमध्ये बढ्दो भ्रष्टाचार रहेको दाबीलाई यस सूचकाङ्कले थप पुष्टि गरेको उहाँको भनाइ छ । उहाँकाअनुसार भ्रष्टाचारग्रस्त मुलुकहरूमा सन् २०२५ मा जेन–जी पुस्ताको नेतृत्वमा भ्रष्टाचारविरुद्ध प्रदर्शनहरू भएका छन् । नेपाल, मडागास्कर, फिलिपिन्स र इण्डोनेशिया लगायतका देशमा युवाहरूले नेतृत्व तहको शक्ति दुरुपयोग, सुलभ सार्वजनिक सेवा, रोजगारी र आर्थिक अवसरबाट वञ्चित हुनुपरेको भन्दै सडक आन्दोलन गरेका छन् । उ

हाँले जेन–जी तथा युवा आन्दोलनबाट राजनीतिक भ्रष्टाचार निर्मूल गर्ने चाहना स्पष्ट रूपमा देखिएको बताउनु भयो । आसन्न निर्वाचनबाट भ्रष्टाचारमा नमुछिएका, इमान्दार र प्रतिवद्ध नेतृत्व चयन हुनुपर्ने उहाँको भनाइ छ । यस्तो नेतृत्व चयन हुनसके मात्र दशकौँदेखि जकडिएको भ्रष्टाचार नियन्त्रणमा ठोस सुधार सम्भव हुने आशा गर्न सकिने उहाँले बताउनुभयो ।