Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


समृद्ध नेपाल निर्माणका लागि विकास र राष्ट्रिय एकता अपरिहार्यः अध्यक्ष ओली

जातिवाद भन्दा माथि उठेर राष्ट्र निर्माणमा लाग्न नेता तथा कार्यकर्तालाई निर्देशन

104
Shares

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको चौतर्फी विकासका लागि भौतिक पूर्वाधारको निर्माण, सामाजिक अन्धविश्वासको अन्त्य र सुदृढ राष्ट्रिय एकता हुनुपर्नेमा जोड दिनुभएको छ ।

झापाको गौरीगञ्जमा साेमबार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीले शुरु गरेका विकासका आयोजनाहरूले जनताको जीवनस्तरमा परिवर्तन ल्याएको दावी गर्नुभएकाे हाे। समृद्ध नेपालको अभियानलाई सार्थक बनाउन सबै एकजुट हुनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले आफू २६–२७ सालदेखि नै यस क्षेत्रको विकासमा जोडिएको स्मरण गर्दै झापाको परिवर्तन आफ्नै आँखाले देखेको बताउनुभयो । उहाँले विगतमा उपहास गरिएका हुलाकी राजमार्ग र ठूला पुलहरू आज यथार्थमा परिणत भएको बताउनुभएकाे छ। विकासका कामहरू ठेकेदार वा इन्जिनियरको त्रुटिका कारण केही ठाउँमा रोकिएको भएता पनि ती सबै समस्या समाधान गरिने बताउनुभयाे । उहाँले गरिबी र पछौटेपनलाई संस्कृति मानेर बस्न नहुने भन्दै गुइँठा र दाउराको सट्टा बिजुली र स्वदेशी ग्याँसको प्रयोग गर्नुपर्ने बताउनुभएकाे छ ।

अध्यक्ष ओलीले ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका व्यक्तिको संरक्षण राज्यको दायित्व भएको र एमाले सरकारले यसलाई उच्च प्राथमिकता दिएको स्पष्ट पार्नुभयो । उहाँले शिक्षा नै विकासको आधार भएकोले हरेक जातजातिका बालबालिकालाई उच्च शिक्षासम्म पुर्‍याउन अभिभावकहरूलाई आग्रह गर्नुभएकाे छ । राजनीतिक रूपमा उहाँले एमालेको नेतृत्वमा मात्रै नेपालको अन्तर्राष्ट्रिय साख जोगिने र विकासले गति लिने दावी गर्नुभयो ।

अध्यक्ष ओलीले भ्रमको राजनीति गर्नेहरूबाट सचेत रहन र जातिवाद भन्दा माथि उठेर राष्ट्र निर्माणमा लाग्न नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिनुभयो ।