Logo २६ माघ २०८२, सोमबार | Mon Feb 9 2026


अबको नेपालमा राति सुत्ने छुट छैन : विश्वप्रकाश शर्मा


0
Shares

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका लागि कडा कदमहरू चाल्न आवश्यक रहेको बताएका छन् ।

चितवनमा आयोजित एक कार्यक्रमलाई सोमवार सम्बोध्न गर्दै उनले दलिएको काँग्रेसले गगन थापालाई प्रधानमन्त्री बनाउने संकल्पका साथ अघि बढ्ने बताए ।

बुढीगण्डकी परियोजनाका लागि मुआब्जाको काम लगभग सकिएको तर निर्माणका लागि बजेट अभाव रहेको भन्दै शर्माले जीडीपीपी (गभर्मेन्ट, डायस्पोरा र प्राइभेट सेक्टर) मोडेल अघि सारे ।

विदेशमा रहेका नेपालीले १००० देखि २५००० अमेरिकी डलरसम्म लगानी गर्नसक्ने र त्यसबाट १२०० मेगावाट बिजुलीका साथै पर्यटन र माछा उत्पादनको विशाल ड्याम बन्ने उनको परिकल्पना छ ।

धनी देशहरू राति पनि काम गर्ने तर नेपाल राति सुत्ने प्रवृत्तिको अन्त्य गर्न शर्माले ८–८ घण्टाको तीन सिफ्टमा विकास निर्माणका काम गर्ने योजना सुनाए । अस्पताल, बाटो र पुल निर्माणका कामहरू राति पनि गराएर ३ वर्षमा सकिने काम १ वर्षमै सम्पन्न गरी लागत घटाउने उनको प्रस्ताव छ ।

काँग्रेसको कुनैपनि तहको नेता वा कार्यकर्तामाथि भ्रष्टाचारको मुद्दा अदालतमा दर्ता हुनासाथ तत्काल सदस्यता निलम्बन गरिने कडा नीति उनले घोषणा गरे साथै, अख्तियारमा ‘मेरो र तेरो मान्छे’ नभई विशेषज्ञता र पारदर्शिताको रोस्टर बनाएर नियुक्ति गरिनुपर्नेमा उनले जोड दिए ।

शर्माले नेतृत्व हस्तान्तरणका लागि नयाँ फर्मुला प्रश्तुत गरे । १ पटक राष्ट्रपति, २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने, ३ पटकभन्दा बढी मन्त्री हुन नपाउने र ४ पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुपर्ने बताए । उनले आफैं पनि झापाबाट समानुपातिकमा नबसी अवसर हस्तान्तरण गरेको उदाहरण प्रश्तुत गरे ।

चितवनका तीनवटै क्षेत्रमा काँग्रेसका उम्मेदवारहरू (टेकप्रसाद गुरुङ, मिना खरेल र राजेन्द्र बुर्लाकोटी) लाई जिताउन अपिल गर्दै शर्माले जनताले दिने यो मतले गगन थापालाई देशको प्रधानमन्त्री बनाउन योगदान गर्ने बताए । उनले युवा र अनुभवको सम्मिश्रणबाट काँग्रेसले देश बदल्ने दाबी गरे ।

बारम्बार प्रधानमन्त्री भइरहने पुराना अनुहार र ५ वर्षका लागि मेयर छानिएका व्यक्तिहरू बीचमै पद छाडेर अर्को पदमा दौडिने प्रवृत्तिमाथि उनले नैतिक प्रश्न उठाए । नेतृत्व भनेको जमेको पोखरी नभई बगिरहेको नदी हुनुपर्ने उनको तर्क थियो ।

Skip This