काठमाडौं ।
मुस्ताङको बारागाउँ मुक्तिनाथ क्षेत्रमा सञ्चालन भएको पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता रसुवाका छेवाङ र नुवाकोटकी संगिता च्याम्पियन बनेका छन् ।
नेपाल स्की संघको आयोजनामा यही माघ २० गतेदेखि २४ गतेसम्म सञ्चालन भएको उक्त प्रतियोगिताको नतिजाअनुसार पुरुष सिनियरतर्फ रसुवाका छेवाङ मिंगुर तामाङले प्रथम स्थान हासिल गरे भने झापाका समिप लामिछाने दोस्रो र दोलखाका पुन्दरीक पाण्डे तेस्रो भएका छन् । जुनियर पुरुषतर्फ दोलखाका सामदेन खेल्नु शेर्पाले स्वर्ण पदक जितेका छन् ।
त्यसैगरी महिला सिनियरतर्फ नुवाकोटकी संगिता लामा प्रथम भइन् । त्यसैगरी, महिला जुनियरतर्फ काठमाडौँकी नयना शाक्यले पहिलो स्थान प्राप्त गरेकी छिन् । विजेता खेलाडीहरूमध्ये छेवाङ मिंगुर तामाङ र समिप लामिछानेले यसअघि नै दक्षिण कोरिया र चीनमा आयोजित अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा नेपालको प्रतिनिधित्व गरिसकेका छन् ।
पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता तथा प्रशिक्षण कार्यक्रम शनिबार सफलतापूर्वक सम्पन्न भएको थियो । प्रतियोगिता प्रतिकूल मौसम र हिउँको अभावका कारण तीन वर्षको अन्तरालपछि आयोजना गरिएको हो । प्रतियोगितामा कुल ४० जना खेलाडीहरूले सहभागिता जनाएको भए तापनि निर्धारित मापदण्ड पूरा गरेका १४ जना पुरुष र १० जना महिला खेलाडी मात्र अन्तिम प्रतिस्पर्धाका लागि योग्य ठहरिएका थिए ।
नेपाल ओलम्पिक कमिटी तथा नेपाल स्की संघका अध्यक्ष जीवन राम श्रेष्ठले विजयी खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गर्दै मुस्ताङको मुक्तिनाथ क्षेत्र स्की खेलका लागि नेपालकै उत्कृष्ट गन्तव्य भएको उल्लेख गरे । उनले यस क्षेत्रलाई विश्वभरका स्की खेलाडीहरूको प्रमुख रोजाइ बनाउन सकिने भन्दै यसका लागि व्यवस्थित पूर्वाधार निर्माणमा प्रदेश र संघीय सरकारले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।
धार्मिक र सांस्कृतिक रूपमा परिचित यस क्षेत्रलाई खेल पर्यटनको केन्द्रका रूपमा विकास गर्न सके मुलुकको आर्थिक समृद्धिमा समेत ठुलो टेवा पुग्ने विश्वास व्यक्त गरिएको छ ।





प्रतिक्रिया दिनुहोस्