एजेन्सी । जापान र थाइल्याण्डमा सम्पन्न आम चुनावले दुवै देशको राजनीतिक दिशा स्पष्ट रूपमा परिवर्तन गरेको छ ।
जापानमा प्रधानमन्त्री सानाए ताकाइची नेतृत्वको सत्तारूढ गठबन्धनले ऐतिहासिक जित निकाल्दै संसदमा ठूलो बहुमत हासिल गरेको समाचारसंस्था रोयटर्सले जनाएका हाे । ताकाइचीको लिबरल डेमोक्रेटिक पार्टीले तल्लो सदनका ४ सय ६५ सिटमध्ये करिब ३ सय २८ सिटमा जीत हासिल गरेको छ । गठबन्धन साझेदार जापान इनोभेसन पार्टी (इशिन) सँग मिलेर ताकाइचीले दुई–तिहाइभन्दा बढी सिट सुरक्षित गर्नुभएको हाे ।
ठूलो बहुमतसँगै ताकाइचीलाई कर कटौती, आर्थिक सुधार र सुरक्षा नीतिमा महत्त्वपूर्ण निर्णय लिन सहज बनाउने भएकाे छ । यद्यपी कर कटौतीको योजनाले जापानी ऋण र येनमाथि दबाब बढाएको भन्दै वित्तीय बजारमा चिन्ता बढाएको छ । चुनावपछि प्रारम्भिक कारोबारमा जापानी येन अमेरिकी डलरको तुलनामा केही कमजोर बनेको हाे ।
त्यस्तै, उता थाइल्याण्डमा प्रधानमन्त्री अनुतिन चार्नभिराकुलको भुमजैथाई पार्टीले स्पष्ट अग्रता बनाएको छ । थाइल्याण्डमा प्रारम्भिक मतगणनाअनुसार भुमजैथाई पार्टीले तल्लो सदनमा ५ सय मध्ये सबै भन्दा अगाडि १ सय ९४ सिट हात पारेको छ । प्रगतिशील पीपुल्स पार्टी दोस्रो र एक समयको शक्तिशाली फ्यु थाई पार्टी तेस्रो स्थानमा छन् ।
अनुतिनले कम्बोडियासँगको सीमा विवादपछि चर्किएको राष्ट्रवादी भावनालाई चुनावी रणनीतिमा रूपान्तरण गर्दै संसद विघटन गरेर आकस्मिक चुनाव घोषणा गर्नुभएको थियो । विश्लेषकहरूका अनुसार यही राष्ट्रवादी एजेण्डा उहाँका जितको मुख्य आधार बन्यो । यद्यपि भुमजैथाईले एक्लै बहुमत नपाउने सम्भावना रहे पनि स्थिर सरकार गठनको सम्भावना बलियो देखिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
थाइल्याण्डमा चुनावसँगै गरिएको जनमतसंग्रहमा सन् २०१७ को सैनिक समर्थित संविधानलाई प्रतिस्थापन गर्ने प्रस्तावलाई मतदाताले करिब दुई तिहाइ बहुमतले समर्थन गरेका छन् । यदि प्रक्रिया अघि बढेमा नयाँ संविधान आउन करिब दुई वर्ष लाग्ने अनुमान गरिएको छ ।
जापानमा ताकाइचीको बलियो जनादेशले नीतिगत तीव्रता ल्याउने संकेत दिएको हाे । थाइल्याण्डमा अनुतिनको जितले लामो समयदेखिको राजनीतिक अस्थिरता अन्त्य हुने आशा बढाएको छ ।





प्रतिक्रिया दिनुहोस्