Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


सिंहदरबार जलाउने काम हुँदैन भन्नेकुराको ग्यारेन्टी काँग्रेसले मात्रै गर्नसक्छः गगन थापा


143
Shares

काठमाडाैं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले फेरि सिंहदरबार जल्दैन भन्नेकुराको ग्यारेन्टी आफ्नो पार्टीले मात्रै गर्नसक्ने दाबी गर्नुभएको छ । 

शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले भाद्र २३ र २४ को घटनाको चित्रण गर्दै आगामी निर्वाचनपछि सरकारले गोली चलाउने र अर्कोले सिंहदरबार जलाउने काम हुँदैन भन्ने कुराको ग्यारेन्टी नेपाली काँग्रेसले गर्ने जिकिर गर्नुभएको हो ।

सभापति थापाले युवा, बुढापाका सबै नागरिकसँग संवाद गरेर काँग्रेसले निर्वाचन पछि देश विकासको नयाँ अध्याय शुरु गर्ने समेत बताउनु भयो । उहाँले काँग्रेसले देशलाई सम्हाल्ने कामको नेतृत्व गर्न चाहेको समेत बताउनुभयो ।

सभापति थापाले भन्नुभयो,‘हामीले मतदातालाई भन्नु पर्छ । एक पटक आँखा चिम्लिएर सोचौँ–फागुन २१ पछि २२ पनि आउँछ । अर्को वर्षको भाद्र २३, २४ पनि आउँछ । अर्को वर्षको भाद्र २३, २४ मा फेरि सरकारले नागरिकलाई गोली चलाउँदैन, फेरि सिंहदरबार जल्दैन भन्ने ग्यारेन्टी कसैले गर्नसक्ने भने त्यो काँग्रेसले मात्रै गर्नसक्छ । यो हामीले जिम्मा लिने हो । हामी गर्छौ त्यो । देश सम्हाल्ने काम हाम्रो हो । देश भित्र जुन अविश्वास छ, त्यसलाई बदल्ने काम, एक अर्काप्रतिको जुन अविश्वास छ, त्यसलाई भरोसामा बदल्ने काम हाम्रो हो । नेपाली काँग्रेसले यो बेलामा सबैसँग संवाद गर्छ । हामी तन्नेरीसँग संवाद गर्छौँ । बुढापाकासँग संवाद गर्छौं । मधेस, पहाड सबैसँग संवाद गर्छौं । देशबाहिर रहेका लाखौँ नागरिकसँग पनि संवाद गर्छौं । र सबैलाई फागुन २१ पछि सबैसँग हातेमालो गरेर देश विकासको नयाँ अध्याय शुरु गर्न चाहन्छौँ ।’ 
सभापति थापाले देशलाई बदल्नका लागि आम नागरिकलाई भरोसा जगाउने काममा आफ्नो पार्टी लाग्ने पनि बताउनु भयो ।