Logo २४ माघ २०८२, शनिबार | Sat Feb 7 2026


विकासका लागि काँग्रेसको विकल्प छैन : जितेन्द्रकुमार श्रेष्ठ


143
Shares

काठमाडाैं । नेपाली काँग्रेस ललितपुर क्षेत्र नम्बर ३ का उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले आगामी निर्वाचनमा नेपाली काँग्रेसको रुख चिन्हलाई विजयी बनाउन सम्पूर्ण कार्यकर्ता र शुभेच्छुकहरूलाई एकजुट हुन आह्वान गर्नुभएको छ । 

ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले पार्टीको सिद्धान्त र विकासको एजेण्डा नै आफूहरूको मुख्य शक्ति भएको स्पष्ट पार्नुभएको हो । आफ्नो सम्बोधनका क्रममा श्रेष्ठले स्थानीय तह र केन्द्र सरकार बीचको समन्वयमा विशेष जोड दिनुभयो ।

उहाँले ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनसँगको निकट सहकार्यले मात्र यस क्षेत्रको विकासलाई तिब्रता दिन सकिने विश्वास व्यक्त गर्नुभयो । स्थानीय जनप्रतिनिधिहरूको सफल अनुभव र आफ्नो राजनीतिक सक्रियतालाई जोडेर ललितपुरलाई एक नमूना जिल्ला बनाउने उहाँको प्रतिवद्धता छ । उहाँले विकासका आयोजनाहरूलाई पूर्णता दिन ‘टिम वर्क’ को आवश्यकता रहेको औंल्याउनुभयो ।

पार्टीको निर्वाचन चिन्ह ‘रुख’ को दर्शनका बारेमा चर्चा गर्दै श्रेष्ठले रुख केवल एक चिन्ह मात्र नभई यो उम्मेदवारको व्यक्तित्व र पार्टीको गौरवशाली इतिहासको प्रतिक भएको बताउनु भयो । कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उहाँले व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर पार्टीको झण्डा र चिन्हलाई केन्द्रमा राखेर चुनावी अभियानमा होमिन निर्देशन दिनुभयो। । 

उहाँले भन्नुभयो,‘विशेष गरिकन अहिले हामी चुनावी अभियानमा छौँ । मैले सबैलाई पटक पटक अनुरोध गरिसकेँ, हामीले धेरै बोल्नु भन्दा पनि यो मेरो उम्मेदवारी भन्दा पनि म त एउटा पात्र मात्र हुँ । उम्मेदवारहरू तपाईँहरू नै हुनुहुन्छ, नेपाली काँग्रेसको चुनाव चिन्ह रुख उम्मेदवार हो, सिद्धान्त बोकेको चारतारा झण्डा नेपाली काँग्रेस हो त्यसै कारणले त्यो सिद्धान्त भित्र उभिएर जो रुख चिन्ह लिएर आएको छ त्यसलाई जिताउनु कर्तव्य तपाईंहरू सबैको हो म त एउटा पात्र मात्र हुँ । त्यसै कारणले तपाईँलाई म विनम्रका साथ अनुरोध गर्छु, आभार पनि व्यक्त गर्न चाहन्छु, जितेन्द्रकुमार एउटा श्रेष्ठ पात्र मात्र हो रुख चिन्ह हाम्रो हो रुख चिन्हलाई मतदान गरेर चाहीँ  जिताउनु पर्छ भन्ने प्रतिज्ञा तपाईँले जो लिनुभएको छ म असाध्यै हर्षोल्लासित भएको छु ।’ 
नयाँ पुस्तामा समेत रुख चिन्हको गहिरो छाप रहेको उल्लेख गर्नुभयो । उहाँले आफ्ना नातीले समेत रुख चिन्ह सजिलै चिनेको प्रसङ्ग कोट्याउँदै काँग्रेसको विरासत नयाँ पुस्तामा हस्तान्तरण भइरहेको दाबी गर्नुभयो । उहाँले आगामी दिनमा घर–दैलो अभियानलाई थप सशक्त बनाउन र प्रत्येक मतदाताको मन जित्न कार्यकर्ताहरूलाई विशेष आग्रह गर्नुभयो ।