Logo १४ चैत्र २०८२, शनिबार | Sun Mar 29 2026


बैतडी बस दुर्घटना: मृतक १३ जनाको परिवारलाई जनही १ लाख दिने सरकारको निर्णय

घाइते ३४ जनाको अस्पतालमा निःशुल्क रूपमा उपचार जारी

325
Shares

काठमाडाैं । सुदूरपश्चिम प्रदेश सरकारले बैतडीमा बिहीबार राित भएको बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले बस दुर्घटनामा ज्यान गुमाएका मृतकका परिवारलाई रकम प्रदान गर्ने निर्णय गरेको हो। साथै, दुर्घटनामा घाइते भएकाहरूको सरकारी अस्पतालमा भर्ना भएको अवधिभरको औषधि तथा उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने निर्णय पनि गरिएको छ।

बैतडीको पुर्चौडी नगरपालिका- ७ भौनीबाट बेहुली लिएर बझाङतर्फ फर्किँदै गरेको सु. प्र. ०२-००१ ख १११९ नम्बरको बस बिहीबार राति बडगाउँमा दुर्घटनामा परेको थियो। दुर्घटनामा १३ जनाको मृत्यु भएको थियाे । दुर्घटनामा परी ३४ जना घाइते भएकाे प्रहरीले बताएकाे छ ।

त्यसैगरी घाइतेमध्ये २५ जनाको डडेल्धुरा अस्पताल, ५ जनाको धनगढीस्थित निसर्ग अस्पताल र ४ जनाको देउलेक स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले बताएकाे हाे । आवश्यक परेमा थप उपचारका लागि काठमाडौंसम्म लैजान हेलिकाेप्टर व्यवस्थापनको तयारी अवस्थामा रहेको समेत प्रदेश सरकारले जनाएको छ।