Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


सरकारले स्वास्थ्य बीमाको भुक्तानी नगरे ललितपुर महानगर आफैंले रकम तिर्ने प्रमुख महर्जनको प्रतिवद्धता


364
Shares

काठमाडाैं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले पाटन अस्पतालसँगको सहकार्यमा सञ्चालित स्वास्थ्य कार्यक्रमका लागि नेपाल सरकारले बीमाको भुक्तानी नगरे महानगरपालिका आफैंले सो रकम तिर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

ललितपुरमा शुक्रबार पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १८ औं वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता व्यक्त गर्नुभएको हो । बीमा बापतको रकम भुक्तानी नहुँदा अस्पताल सञ्चालनमा समस्या उत्पन्न भएको भन्दै प्रमुख महर्जनले सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले कथं कदाचित भुक्तानी नभएर सेवा बन्द गर्नुपर्ने अवस्था आएमा त्यसको प्रत्यक्ष जिम्मेवारी र आलोचना आफूले खेप्नुपर्ने उल्लेख गर्नुभएकाे छ। महानगर प्रमुख महर्जनले नेपाल सरकारले औपचारिक पत्रमार्फत अनुमति दिए वा महानगरलाई भुक्तानीको जिम्मेवारी सुम्पेमा महानगरपालिकाले नै उक्त दायित्व पूरा गर्ने स्पष्ट पार्नुभयो ।

प्रमुख महर्जनले पाटन अस्पतालकै प्राविधिक सल्लाह र सुझावअनुसार नयाँ स्वास्थ्य केन्द्र स्थापना गर्न लागिएको र सो केन्द्र निकट भविष्यमै सञ्चालनमा आउने जानकारी दिनुभएकाे छ । साेही केन्द्र सञ्चालनमा आएपछि राष्ट्रिय स्वास्थ्य बीमा प्रतिष्ठानमार्फत नगरवासीले गुणस्तरीय सेवा प्राप्त गर्ने उहाँकाे भनाइ छ। उहाँले ललितपुर महानगर र पाटन अस्पतालबीचको यो सहकार्य मुलुकका अन्य ७५३ स्थानीय तहका लागि एक उदाहरणीय अभ्यास हुने समेत बताउनुभयाे ।

प्रमुख महर्जनले ७ सय ५३ पालिकामध्ये ललितपुर महानगर उदाहरणीय पालिका बन्न सफल भएको दावी गर्नुभयो ।