Logo २३ माघ २०८२, शुक्रबार | Fri Feb 6 2026


७५३ वटै पालिकामा सेवा विस्तार भए पनि घट्दो आम्दानीले टेलिकममा चुनौती


169
Shares

काठमाडौं । ७ सय ५३ वटै पालिकामा भ्वाइस नेटवर्क विस्तार भइसकेको नेपाल टेलिकममा घट्दो आम्दानीले चुनौती बढाएको छ ।

दुई करोड १९ लाख मोबाइल ग्राहक, चार लाख एफटीटीएच भ्वाइस सेवा, तीन लाख ७४ हजार एफटीटीएच डाटा सेवा तथा ७५ हजार आईपीटीभीका ग्राहक रहेको टेलिकमले सेवा विस्तार गरिरहे पनि आम्दानी घट्ने क्रममा रहेको हो । कम्पनीले गत आर्थिक वर्ष ३८ अर्ब १९ करोडको आम्दानी तथा सरकारलाई १८ अर्ब ४६ करोड रुपैयाँ बराबरको राजस्व योगदान गरेको थियो । तर यो अवस्था सन्तोषजनक नरहेको नेपाल दूरसञ्चार प्राधिकरगर्दैणका अध्यक्ष भूपेन्द्र भण्डारीले बताउनुभयो ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको २२औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भण्डारीले टेलिकमको वित्तीय स्वास्थ्य बिग्रँदै गएको र व्यवस्थापनलाई तत्काल वैकल्पिक कदम चाल्न निर्देशन दिनुभएको छ । उहाँले सेवाको गुणस्तरमा ध्यान दिन र खर्च कटौती गर्न पनि आग्रह गर्नुभयो । गत आर्थिक वर्षमा टेलिकमले कमाएको ६ अर्ब रुपैयाँ नाफा प्राधिकरणको सहुलियतका कारण मात्र सम्भव भएको अध्यक्ष भण्डारीको दावी छ ।

भ्वाइस र एसएमएस जस्ता परम्परागत व्यवसायको खपत कम हुँदै जानु तथा डाटा र इन्टरनेट बजारमा अस्वस्थ प्रतिस्पर्धाका कारण कम्पनीहरूको नाफामा गिरावट देखिएको छ । २०६० सालको माघ १२ गते तत्कालीन दूरसञ्चार संस्थानलाई कम्पनीको मोडेलमा रूपान्तरण गरेपछि स्थापना भएको कम्पनीले बिहीबार २२औँ स्थापना दिवस मनाएको थियो ।