Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


‘उनेपा सामाजिक सञ्जालबाट होइन, डेलिभरीबाट स्थापित भएकाे पार्टी हाे’: अध्यक्ष घिसिङ


104
Shares

काठमाडाैं । उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले मधेश प्रदेशमा घरदैलो अभियान शुरु गर्नुभएकाे छ ।

अध्यक्ष घिसिङले मधेश प्रदेश धेरै जनसंख्या र धेरै निर्वाचन क्षेत्र भएको महत्वपूर्ण प्रदेश भएकाे र जहाँ पार्टीको सशक्त उपस्थिति रहेको बताउनुभएकाे हाे । प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानमा पार्टीका उम्मेदवार रहेको उल्लेख गर्दै उहाँले धेरै क्षेत्रमा प्रतिष्पर्धामा रहेको र उल्लेखनीय संख्यामा सिट जित्ने दावी गर्नुभयो । अध्यक्ष घिसिङले उनेपा सामाजिक सञ्जाल चलाएर स्थापित भएको पार्टी नभएको बताउनुभएको छ ।

पार्टीले जनकपुरमा सञ्चालन गरेको जनताको घरैदैलो कार्यक्रम सहभागी हुने क्रममा संचारकर्मीसँग कुरा गर्दै उहाँले उनेपा डेलिभरीका आधारमा अर्गानिक रूपमा स्थापित भएको दावी गर्नुभयो । देशमा सामाजिक र आर्थिक रूपान्तरण अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले पार्टी नै देश परिवर्तन गर्ने नेतृत्वका रूपमा अघि आउने दावी गर्नुभयो । उहाँले निर्वाचनपछि देशको प्रधानमन्त्री बनेर देश परिवर्तन गर्ने उल्लेख गर्नुभयो । उहाँले प्रधानमन्त्रीको छनाेट भाषणले नभई काम गरेको आधारमा जनताले छनोट गर्ने बताउनुभएकाे छ ।

उनेपाले जेनजी आन्दोलनपछि स्थापना भएको सबै भन्दा नयाँ राजनीतिक शक्ति भएको उहाँको जिकिर थियाे । नयाँ ऊर्जा र जोशसहित अघि बढेको पार्टीले राष्ट्रिय परिवर्तन पार्टीसँग एकता गरेर थप सशक्त भएको उहाँकाे भनाइ छ । अध्यक्ष घिसिङले प्रदेशका ८ वटै जिल्लाका विभिन्न स्थानमा पार्टीका उम्मेदवार रहेको उल्लेख गर्नुभयाे । धेरै क्षेत्रमा प्रतिष्पर्धामा रहेको र उल्लेखनीय संख्यामा सिट जित्ने समेत उहाँकाे दावी छ ।