Logo २२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026


अमेरिका र रूसबीच परमाणु हतियार नियन्त्रण सम्बन्धमा भएको सम्झौताको म्याद आजदेखि सकिंदै


416
Shares

एजेन्सी । अमेरिका र रूसबीच परमाणु हतियार नियन्त्रण सम्बन्धमा भएको महत्त्वपूर्ण सम्झौताकाे म्याद बिहीबारदेखि सकिने भएको छ।

सन् २०१० मा तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामा र रूसी राष्ट्रपति दिमित्री मेदभेदेभबीच भएको न्यू स्ट्राटेजिक आर्म्स रिडक्सन ट्रिटी (न्यूस्टार्ट)को समयावधि बिहीबारदेखि सकिने भएकाे हाे । यो सम्झौताले अमेरिका र रूस दुवैलाई लामो दूरीसम्म प्रहार गर्न सक्ने परमाणु हतियारको संख्या करिब १ हजार ५ सयमा सीमित राखेको थियो। सम्झौताले अन्तरमहादेशीय मिसाइल, पनडुब्बीबाट प्रहार हुने मिसाइल र बमवर्षकमार्फत तैनाथ परमाणु हतियारलाई कडाइका साथ सीमित गरेको थियो।

सम्झौताको म्याद सकिएपछि दुवै देश कानूनी रूपमा त्यो सीमाबाट मुक्त भएको र यसले विश्वव्यापी सुरक्षा चिन्ता गहिरो बनाएको भनेर अमेरिकी टेलिभिजन नेटवर्क सिएनएनले लेखेको छ। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले पनि यो समयलाई अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाको दृष्टिले अत्यन्त नाजुक क्षण भएकाे बताउनुभएकाे छ । महासचिव गुटेरेसले अहिलेको समयमा परमाणु हतियार प्रयोग हुने जोखिम पछिल्ला दशकहरूमै सबै भन्दा उच्च रहेको पनि बताउनुभयाे । उहाँले अमेरिका र रूसलाई नयाँ परमाणु हतियार नियन्त्रण सम्झौताका लागि तत्काल वार्ता शुरू गर्न पनि आग्रह गर्नुभएकाे छ

उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले भने सम्झौता सकिनुलाई खासै गम्भीर रूपमा नलिएको सिएनएनले जनाएकाे हाे ।