Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


सीजी इन्टरटेनमेन्ट प्रालि औपचारिक रूपमा ईमेज ग्रुप अफ कम्पनिजमा आबद्ध


1.7k
Shares

काठमाडौं । नेपालको निजी क्षेत्रको पहिलो प्रसारण संस्था ईमेज च्यानल आफ्नो संस्थागत विस्तारको नयाँ चरणमा प्रवेश गरेको छ।

चौधरी ग्रुपअन्तर्गतको सीजी इन्टरटेनमेन्ट प्रालि औपचारिक रूपमा ईमेज ग्रुप अफ कम्पनिजमा आबद्ध भएको हाे ।

२०८२ सालको सुरुवातसँगै नयाँ व्यवस्थापन संरचना, कर्पोरेट गभर्नेन्स र दीर्घकालीन रणनीतिसहित अघि बढिरहेको ईमेज ग्रुप हाल प्रसारण, छापा, रेडियो र डिजिटल माध्यम समेट्ने मल्टिप्लेटफर्म मिडिया नेटवर्कका रूपमा विस्तार हुँदै गएको छ। सीजी इन्टरटेनमेन्टको सहभागितालाई यस विस्तार प्रक्रियाको महत्वपूर्ण कोशेढुंगा मानिएको छ।

नयाँ व्यवस्थापनअन्तर्गत हाल ईमेज च्यानल एचडी, नेपाल समाचारपत्र (राष्ट्रिय दैनिक), न्यूज अफ नेपाल (अनलाइन), ईमेज एफएम ९७.९, ईमेज खबर (अनलाइन), ईमेज न्यूज एफएम, कामना सिने मासिक तथा साधना हेल्थ म्यागेजिन सञ्चालनमा छन्।

करिब तीन दशकदेखि सञ्चार, सिनेमा तथा मनोरञ्जन क्षेत्रमा सक्रिय सीजी इन्टरटेनमेन्ट प्रालि उद्योगी, सर्जक तथा कवि वसन्त चौधरीको नेतृत्वमा चलचित्र उत्पादन, वितरण, प्रदर्शनी तथा डिजिटल कन्टेन्ट क्षेत्रमा स्थापित संस्था हो। संस्थाले नेपाली मनोरञ्जन उद्योगको व्यावसायिकीकरणमा उल्लेखनीय योगदान पुर्‍याउँदै आएको छ।

सीजी इन्टरटेनमेन्ट र कामना न्यूज पब्लिकेसन्सको सहकार्यमा आयोजना हुँदै आएको ‘सीजी कामना फिल्म अवार्ड’ नेपाली चलचित्र उद्योगको प्रतिष्ठित अवार्डका रूपमा परिचित छ। साथै, डिजिटल प्लेटफर्ममार्फत प्रसारित सामाजिक संवादमूलक कार्यक्रम ‘मनका कुरा’ पनि लोकप्रिय छ।

सीजी इन्टरटेनमेन्टको प्रवेशसँगै ईमेज ग्रुपले कन्टेन्ट उत्पादनदेखि वितरणसम्म आधुनिक प्रविधि, डिजिटल विस्तार र बजार पहुँचलाई थप सुदृढ बनाउने लक्ष्य लिएको जनाएको छ। सीजी इन्टरटेनमेन्ट समूहले विश्वसनीय पत्रकारिता, सिर्जनशील मनोरञ्जन र डिजिटल नवप्रवर्तनलाई एकैसाथ अघि बढाउने उद्देश्य लिएको बताइएको छ।