Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


पुराना दलको संसद पुन:स्थापना गर्ने षड्यन्त्र स्वीकार्य हुँदैन: सभापति लामिछाने


0
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले पुराना राजनीतिक दलहरूले विभिन्न षड्यन्त्र गर्दै संसद पुन:स्थापना गर्ने प्रयास गरिरहेकोतर्फ संकेत गर्नुभएको छ ।

सभापति लामिछानेले मंगलबार राति सामाजिक संजालमार्फत यस्तो संकेत गर्नुभएको हो । उहाँले जनविद्रोहले उखेलेर फालेको पुरानो संसद षड्यन्त्रपूर्ण ढंगले पुन:स्थापना गर्ने कुनै पनि चलखेल, दबाब र धम्की स्वीकार्य नहुने उहाँको तर्क छ ।
उहाँले आगामी निर्वाचनअघि केही दलहरूले गठबन्धन गर्ने प्रयास गरेकोप्रति पनि चेतावनी शैलीको प्रयोग गर्नुभएको हो । जसको गठबन्धन गर्नुपर्ने हो गर, अन्तिम शक्ति लगाउ र यो सुनामी रोकेर देखाउ भन्दै आफू मत परिणाम स्वीकार गर्न तयार रहेको समेत बताउनुभयो ।

उहाँले आफूहरूलाई लोकप्रियतावादी, भिजनबिनाका र नीति–सिद्धान्तबिनाका भनेर कसैले रोइकराइ गर्नु नपर्ने समेत स्पष्ट पार्नुभएको छ । उहाँले सबै भन्दा स्पष्टसँग लेखिएका रास्वपा दस्तावेज पढ्ने जाँगर विश्लेषणजीवीहरूलाई नचल्नुको भारी हामीले कहिलेसम्म बोक्ने भन्दै प्रश्न समेत गर्नुभयो । विचार, सिद्धान्त, नीति सबै भएका भनिएका तपाईंहरूको नियत र कार्यक्षमता सबै देखिएको समेत उहाँको भनाइ छ । उहाँले देशका सन्ततिको सुनौलो भाग्य मेट्ने र भाग्य लेखिएको त्यही निधारमा ताकेर गोली ठोक्नेहरूविरुद्ध क्रान्तिको घण्टी बजिसकेको दावी समेत गर्नुभएको छ । अब अन्तिम पर्दा उठ्न बाँकी रहेको र त्यो पर्दा आफूहरूले उठाउने सभापति लामिछानेको जिकिर थियो ।

उता विश्लेषकहरूले भने संसद पुनःस्थापनाको खेल खेलिए त्यो जेन–जीको पवित्र आन्दोलन र बलिदानीमाथि अत्याचार हुने बताएका छन् ।