Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


इरान र अमेरिकाबीच सम्भावित वार्ताको तयारी


611
Shares

एजेन्सी । इरानी प्रवक्ता इस्माइल बाघेईले टर्कीमा वार्ता शुरु हुन लागेको भनेर आएकाे पश्चिमी सञ्चारमाध्यमका रिपोर्टहरूको सन्दर्भमा टिप्पणी गर्नुभएकाे छ।

तेहरानमा आयोजित साप्ताहिक पत्रकार सम्मेलनमा सम्बाेधनकाे क्रममा इरानले वार्ताका विभिन्न पक्ष र दृष्टिकोणहरूलाई गम्भीरतापूर्वक विचार गरिरहेको उहाँले बताउनुभएको हाे। उहाँले विगतका वार्ताहरूमा अन्य पक्षहरूबाट भएका सम्झौता उल्लंघन र धोकाधडीका कारण यस पटक समय र सावधानीलाई निकै महत्व दिइएको स्पष्ट पार्नुभएकाे छ । इरानको मुख्य प्राथमिकता अमेरिकी प्रतिबन्धहरू हटाउनु रहेको , त्यसको बदलामा आफ्नो परमाणु कार्यक्रमप्रति रहेका विश्वव्यापी चिन्ताहरू सम्बोधन गर्न र विश्वासको वातावरण निर्माण गर्न तयार रहेको उहाँले बताउनुभयाे ।

यसैबीच इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले पनि अमेरिकाले दबाबको नीति त्यागेमा छोटो समयमै न्यायोचित र निष्पक्ष परमाणु सम्झौता सम्भव रहेको उल्लेख गर्नुभएको छ । अमेरिकी सैन्य गतिविधि र राष्ट्रपति डोनाल्ड ट्रम्पका पछिल्ला अभिव्यक्तिहरूका बाबजुद इरानले कूटनीतिक माध्यमबाट राष्ट्रियहितको रक्षा गर्ने अडान राखेको हाे ।