Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


साफ यू-१९ महिला च्याम्पियनशिपमा नेपाल विजयी


0
Shares

काठमाडौं । साफ यू १९ महिला च्याम्पियनशिपमा आफ्नो दोश्रो खेलमा नेपालले भूटानलाई पराजित गरेको छ ।

पोखरा रङ्गशालामा सोमबार साँझ भएको खेलमा नेपालले भूटानलाई २–१ गोलले पराजित गरेको हो । पहिलो खेलमा नेपाल भारतसँग १ गोलले र भूटान बङ्गलादेशसँग १२ गोलको फराकिलो अन्तरले पराजित भएको थियो । सोमबार भएको पहिलो खेलमा बङ्गलादेशले भारतलाई २–० गोलले पराजित गरेको छ ।

त्यस्तै, प्रतियोगितामा बङ्गलादेशले लगातार दुई खेल जितेको छ । सबै टोलीले २ खेल खेलेका हुन् । लगातार दुई खेलमा जित निकालेको बङ्गलादेश ६ अङ्कसहित शीर्ष, समान खेलमा ३ अङ्कसहित नेपाल दोश्रो, ३ अङ्कसहित भारत तेश्रो र अङ्कविहिन हुँदै भूटान अङ्क तालिकाको पुछारमा रहेको छ ।

अब नेपालले समूह चरणको आफ्नो अन्तिम तथा तेश्रो खेलमा बुधबार बङ्गलादेशसँग खेल्ने भएको हो । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगितामा शीर्ष दुई स्थानमा रहने टोलीबीच उपाधिका लागि प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।