Logo २० माघ २०८२, मंगलबार | Tue Feb 3 2026


बजारमा ग्याँसको अभाव नभएको निगमको दावी (विज्ञप्तिसहित)


104
Shares

काठमाडौं । नेपाल आयल निगमले बजारमा ग्याँसको अभाव नरहेको स्पष्ट पारेको छ ।

निगमले सोमबार राति एक प्रेस विज्ञप्ति जारी गर्दै ग्याँस उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराई बजार सामान्यीकरण गर्न निर्देशन दिएको जनाएको हो । इण्डियन आयलबाट सन् २०२६ जनवरीमा ४७ हजार ३ सय ४ मेट्रिक टन ग्याँस सम्बन्धित उद्योगहरुले आयात गरेको निगमले जानकारी समेत गराएको छ । यसअघि सन् २०२५ नोभेम्बरमा ४७ हजार २ सय ६४ र डिसेम्बरमा ४८ हजार ५ सय ३१ मेट्रिक टन ग्याँस आयात भएको थियो ।

यो परिणाम जाडोयामको माग धान्न पुग्ने ग्याँस भएको निगमले जनाएको छ । अहिले केही एकाध उद्योगको ग्याँस सिलिण्डर अभाव देखिएकाले ती उद्योगलाई बजारमा सिलिण्डरको आपूर्ति सहज गराउन निर्देशन दिइएको निगमका प्रवक्ता मनोजकुमार ठाकुरले जानकारी दिनुभयो ।

बजारमा एलपी ग्याँसको अहिलेको अवस्था तथा आसन्न चुनावलाई समेत मध्यनजर गरी फेब्रुअरी महिनाका लागि साविकको परिणाममा दुई हजार मेट्रिक टन थप गरिएको उहाँको भनाइ छ । आवश्यकता अनुसार मात्र ग्याँसको खरिद गर्न एवम् ग्याँसको अनावश्यक भण्डारण नगर्न समेत निगमले निर्देशन दिएको जनाएको हो ।