Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


अख्तियारको त्रिभुवन विमानस्थल भन्सार कार्यालय छापा

भन्सार अधिकृतसहित ३ जना घुस रकमसहित नियन्त्रणमा

442
Shares

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालय छापा मारेकाे छ ।

साेही क्रममा आयोगले भन्सार अधिकृत र नायब सुब्बासहित ३ जना कर्मचारीलाई घुस रकम र स्रोत नखुलेको रकमसहित नियन्त्रणमा लिएको जनाएकाे हाे। पक्राउ पर्नेहरूमा वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत इन्द्र न्यौपाने, कार्यालय सहयोगी गणेशप्रसाद पुडासैनी र गोश्वारा हुलाक कार्यालय, पार्सल (निकासी) शाखाका नायब सुब्बा छविप्रसाद रिसाल रहेका छन् ।

कुरियर कम्पनीमार्फत विदेशमा विभिन्न सामान पठाउँदा सेवाग्राहीसँग घुस माग्ने गरेको सूचना र उजुरीका आधारमा आयोगको टोलीले उनीहरूलाई डिल्लीबजारस्थित गोश्वारा हुलाक कार्यालयबाट नियन्त्रणमा लिएको हो । आयोगका अनुसार कार्यालय सहयोगी गणेश प्रसाद पुडासैनीको कार्यकक्षमा रहेको टेबलको घर्राबाट घुसबापत लिइसकेको १० हजार रूपैयाँ र स्रोत नखुलेको ४० हजार ३ सय ५० रूपैयाँ बरामद भएको छ । साथै, उनको साथबाट थप ९६ हजार ७० रूपैयाँ गरी जम्मा १ लाख ४६ हजार ४ सय २० रुपैयाँ बरामद गरिएको हाे।

त्यस्तै, नायब सुब्बा छवि प्रसाद रिसालको साथबाट घुसवापत लिइसकेको २० हजार र स्रोत नखुलेको १८ हजार ८ सय ४८ गरी जम्मा ३८ हजार ८ सय४८ रूपैयाँ बरामद भएको छ। आयोगले उनीहरूको साथबाट स्रोत नखुलेको थप रकमसहित कूल २ लाख ६८ हजार २ सय ८८ रूपैयाँ र विभिन्न व्यक्तिहरूबाट संकलन गरिएका २३ थान मोबाइल सेट समेत बरामद गरेको जनाएको हाे ।

आयोग नियन्त्रणमा लिइएका तीनै जनामाथि अनुसन्धान भइरहेको जनाएकाे छ।