काठमाडाैं । साफ यू-१९ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा साेमबार २ वटा खेल हुने भएका छन् ।
पोखरा रंगशालामा मध्याह्न १२ बजे शुरु हुने पहिलो खेलमा बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुने भएकाे हाे ।त्यसैगरी घरेलु टोली नेपालले साेमबार दिउँसो ३ बजेदेखि भूटानसँग प्रतिस्पर्धा गर्ने भएकाे छ । नेपाल र भूटान दुवै यसअघि आफ्नो पहिलो खेलमा पराजित भएका थिए । भारतले नेपाललाई १–० गोलले निरास बनाएको थियो । प्रतियोगिताको उद्घाटन खेलमा भुटान भने बंगलादेशसँग १२-० को फराकिलो अन्तरले पराजित भएको थियो ।
त्यसैले प्रतियोगिताको दोस्रो खेलमा नेपाल र भूटान दुवै टोली दबाबमा हुने भएका छन् । फाइनल सम्भावना जीवित राख्नका लागि दुवै टोलीलाई साेमबारको खेल महत्वपूर्ण रहने भएकाे हाे । बंगलादेश र भारतले भने एक-एक खेल जितेर समान तीन अंक जोडेका छन् ।
प्रतियोगितामा यस पटक ४ टोलीले मात्र सहभागिता जनाएका छन् । दक्षिण एसियाली फुटबल महासंघ (साफ)को समन्वय तथा अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा भएको प्रतियोगिता ‘राउन्ड रोबिन लिग’ प्रणालीमा खेलाइएको छ । जहाँ प्रत्येक टोलीले अन्य टोलीसँग एक–एक खेल खेल्ने भएका हुन् ।
प्रतियोगिताको लिग चरणपछि शीर्ष दुई टोलीले यहि माघ २४ गते हुने फाइनल खेलमा उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् ।





प्रतिक्रिया दिनुहोस्