Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


राष्ट्रपति पौडेल नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान पुगे


78
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ४ दिने औपचारिक भ्रमणका लागि जापानमा पुग्नुभएको छ ।

राष्ट्रपति पौडेललाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा सोमबार बिहान जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका लागि जापानका राजदूत तोरु मायदा र जापानका लागि नेपालका कार्यवाहक राजदूत हरिहरकान्त पौडेल लगायतले स्वागत गरेका हुन् । जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार राति नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ वर्षगाँठका अवसरमा जापानमा आयोजना हुने विशेष समारोहमा सहभागी हुन जापान जानुभएको थियो ।

जापान भ्रमणका अवसरमा राष्ट्रपति पौडेलले माघ १९ गते सोमबार जापान सरकारले अयोजना गर्ने नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी हुनुहुने भएको छ । त्यस्तै, माघ २० गते टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलको जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट र जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाएबीच पनि भेटवार्ता हुने कार्यक्रम रहेको हो । भ्रमणका क्रममा उहाँसँग जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गर्ने गर्नुहुने भएको छ ।

भ्रमणका क्रममा जापानी व्यावसायिक समुदायसँग र जापानस्थित नेपाली राजदूतावासले उनको सम्मानमा आयोजना गर्ने स्वागत समारोहमा राष्ट्रपति पौडेल सहभागी हुनुहुने भएको हो । नेपाल जापानबीच १ सेप्टेम्बर सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले सन् १९६५ मा टोकियोमा र जापानले सन् १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

राष्ट्रपति पौडेल ४ दिने भ्रमण सम्पन्न गरी यहि माघ २१ गत बुधबार स्वदेश फर्कने कार्यक्रम छ ।