Logo १८ माघ २०८२, आइतबार | Sun Feb 1 2026


फागुन २१ पछिको संसद बैठक पुतली बगैँचास्थित निर्माणाधिन भवनमा बस्ने


195
Shares

काठमाडाैं । आगामी २१ फागुनको निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधिन संसद भवनमै सञ्चालन हुने भएको छ ।

निर्वाचनपछिको संसद सञ्चालन गर्न सरकारले निर्माणाधिन संसद भवन उपलब्ध गराउने जानकारी गरिसकेको संसद सचिवालयका प्रवक्ता एवं सहसचिव एकराम गिरीले जानकारी दिनुभयो । आइतबार प्रवक्ता गिरीले निर्माणाधिन संसद भवनका १२ वटा भवनमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने जानकारी गराएको बताउनुभयो ।

उहाँकाअनुसार प्रतिनिधि सभा गठन भइसकेपछि राष्ट्रिय सभाको बैठक समेत सोही निर्माणाधिन संसद भवनबाटै सञ्चालन हुनेछ । प्रवक्ता गिरीले निर्माणाधिन संसद भवनको ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सकिसकेको भन्दै चैतसम्म बाँकी काम सम्पन्न गर्नेगरी सरकारसँग निरन्तर छलफल भइरहेको बताउनुभयो ।

उहाँले निर्वाचनपछि गठन हुने प्रतिनिधि सभाको बैठक सञ्चालनको लागि सचिवालयले अन्य कुनै विकल्प नहेरेको समेत बताउनुभयो । उहाँले अत्याधुनिक प्रविधिसहित निर्वाचनपछिको संसद सञ्चालन गर्न आवश्यक तयारी भइरहेको समेत जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘निर्वाचनपश्चात गठन हुने प्रतिनिधि सभाको बैठक कहाँ बस्छ भन्ने जिज्ञासा बारम्बार आउने गरेको छ । यस सम्बन्धमा सचिवाले पनि नेपाल सरकारसँग छलफल गरिरहेकै अवस्था हो । पछिल्लो छलफलअनुुसार नेपाल सरकारले जुन निर्माणाधिन संसद भवन छ त्यसमा १२ वटा भवन रहेका छन् ।

जसमध्ये तत्कालका लागि ६ वटा भवन उपलब्ध गराउने अब गठन हुने प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठकसमेत निर्माणाधिन संसद भवनमै बस्ने जानकारी सरकारले गराएको छ । अहिले त्यहाँ ९० प्रतिशत भौतिक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको छ । अझै पनि समय बाँकी छ । अबको एक महिनामा बाँकी कामहरु समेत सम्पन्न गरेर चैतको पहिलो हप्तासम्ममा सचिवालयलाई उपलब्ध गराउने भन्ने छलफल भएको छ । त्यसकारण संसद सचिवालय वैकल्पिक व्यवस्थाको बारेमा सोचेको छैन । हामी पनि सोहीअनुसार तयारी अघि बढाइरहेका छौँ ।’

यसअघि संसद बैठक बस्दै आएको काठमाडौंको बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र जेन–जी आन्दोलनको क्रममा आन्दोलनकारीहरुले आगजनी गरेर ध्वस्त बनाएका थिए । उक्त भवनको पुर्ननिर्माण कार्य अझै सुरु भएको छैन । हाल राष्ट्रिय सभाको १९ औँ अधिवेशन सिंहदरबारस्थित कृषि समितिको हलबाट सञ्चालन भइरहेको छ ।