ललित बहादुर सिंह-संवाददाता
बझाङ । मौसममा सुधार आएसँगै हिमाली जिल्ला बझाङमा चुनावी सरगर्मी फेरी शुरु भएको छ । हिमपातका कारण जनजीवन प्रभावित हुँदा निर्वाचन लक्षित कार्यक्रम पनि रोकिएकाे थियाे । हिउँ पग्लदै गएपछि उमेदवारहरु घर-घरमा पुगेर मतदाता भेटन थालेका छन्।
माघ दोस्रो हप्ता मौसममा आएको बदलिका कारण प्रभावित भएको बझाङको जनजीवन सामान्य बन्दै गएको छ । हिमपातका कारण प्रभावित बनेको बझाङको दैनिक क्रियाकलाप हिउँ पग्लन थालेसँगै सामान्य बनेको हो । आगामी फागुन २१ गतेको निर्वाचनका कारण बझाङमा चुनावी सरगर्मी बढेको थियो । जसलाई मौसमले प्रभावित बनाएपनि सुधार आएसँगै फेरी माहोल तातेको छ।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको बझाङमा नेकपा एमाले, नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी लगायत ७ जना उमेदवार मात्र चुनावी मैदानमा उत्रिएका छन् । बझाङमा एमालेबाट ऐन महर, नेपाली कांग्रेसबाट प्रकाश रसाइली, नेपाली कम्युनिष्ट पार्टीबाट मीनबहादुर कुँवर, राष्ट्रिय स्वतन्त्र पार्टीबाट शैलेन्द्र कुमार सिंह, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विश्वप्रकाश जेठारा, नेपाल कम्युनिष्ट पार्टी (विप्लव) बाट भरत मल्ल र नेपाल मजदुर किसान पार्टीबाट दलबहादुर बोहरा चुनावी मैदानमा छन् ।
बझाङका उमेदवारहरु छिमेकी मुलुक चीनको स्वशासित क्षेत्र तिब्बतसंग जोड्ने ताक्लाकोटसम्म पाँच वर्षभित्रमा सडक पुर्याउने प्रमुख मुद्दा बनाएका छन् । यस बाहेक स्वास्थ्य, शिक्षा, रोजगारी र सुशासन पनि उनीहरुको ऐजण्डा देखिन्छन् । कांग्रेसका उम्मेदवार तथा कांग्रेस सहमहामन्त्री प्रकाश रसाइली बझाङको भाग्य र भविष्य कोर्न आफू सक्षम भएको दावी गर्नुभएकाे छ। अघिल्लो निर्वाचनमा गठबन्धनका उमेदवारसंग झिनो मततान्तरले पराजित हुनुभएका एमालेका केन्द्रीय सदस्य ऐन महर यस पटक पराजयको घाउँ पुर्ने दाउमा हुनुभएकाे छ । पार्टीको बलियो संगठन र युवा माझ स्थापित भएकाले आफ्नो जीत सुनिश्चित भएको उहाँकाे जिकिर थियाे।
तत्कालिन माओवादीका जिल्ला ईन्चार्ज मीनबहादुर कुवँर पनि आफ्नो सवल उपस्थिति र राजनैतिक एजेण्डाका आधारमा जित निकाल्ने दावी गर्नुभएकाे छ । पुराना दलहरूको विकल्पमा आफुँलाई प्रस्तुत गर्दै आएको रास्वपाका उमेदवार शैलेस बहादुर सिंह पनि देशब्यापी लहर नै आफ्नो जीतको आधार भएको दावी गर्नुभयाे ।
एक मात्र क्षेत्र रहेको बझाङमा सात दलबाट चुनावी मैदानमा होमिएका उमेदवारहरु नतिजा आफ्नो पोल्टामा पर्न प्रयासरत देखिन्छन ।
विस्तृतमा भिडियाे रिपाेर्ट हेर्नुहाेस् :





प्रतिक्रिया दिनुहोस्