Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


आसन, भाषण र शासनमा महिलाहरु नपुगिकन महिला मुक्ति हुँदैन : अस्मिता थापा


91
Shares

काठमाडाैं । नेकपा (एमाले) की केन्द्रिय सदस्य तथा ओखलढुंगा प्रतिनिधि सभा सदस्यकी उम्मेदवार अस्मिता थापाले जिल्लाको विकास र युवा र महिला सशक्तीकरण आफ्नो प्राथमिकतामा पर्ने बताउनुभएकाे छ ।


शनिवार नेकपा एमाले ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चले आयोजना गरेको प्रतिनिधि भसा निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले ओखलढुंगा अब आफैं नेतृत्व गरेर सीमानाका सडकहरू निर्माण गर्दै पालिका–पालिकामा कालोपत्रे गर्ने गरी अघि बढ्ने बताउनुभयो ।

उहाँले एउटा गाउँपालिकाको व्यक्ति तीनवटा जिल्ला हुँदै सदरमुकाम पुग्नुपर्ने बाध्यताको अन्त्य गर्ने बताउनु भयो । उहाँले शैक्षिक समस्या सम्बोधन गर्दै विद्यालय–विद्यालयमा गएर सही काउन्सिलर उपलब्ध गराउने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो । महिलाको मुक्तिको लागि आसन, भाषण र शासनमा महिलालाई पुर्‍याउन देशव्यापी नेतृत्व गर्ने बताउनु भयो । नवयुवाहरूले भाषणभन्दा कामबाट आफूलाई प्रमाणित गर्नुपर्ने उहाँको भनाइ थियो । उहाँले युवा पुस्तालाई काममा आधारित नेतृत्वको उदाहरण दिनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अब ओखलढुंगा आफैँ नेतृत्व गरेर सीमानाका सडकहरु निर्माण गर्दै ओखलढुंगाका पालिका पालिकामा कालोपत्रे गर्नेगरी अघि बढ्नेछौँ । एउटा गाउँपालिकाको व्यक्ति तीन वटा जिल्ला हुँदै आफ्नो जिल्लाको सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । आज पनि ओखलढुंगा मोबाइलको नेटवर्क नपुगेर फोन गर्न डाँडामा जानुपर्ने अवस्था छ । म आफैँले भोगेको छु । ओखलढुंगा जिल्लामा आज फोन नलाग्ने जुन ठाउँहरु छन्, हिजो पनि फेँदीगुठबाट फोन आएको थियो । अब फोनको नेटवर्क मात्रै होइन, ओखलढुंगाका ठाउँठाउँमा साइबर क्याफेहरु बन्नेछन् । त्यहाँ उच्चतम नेटवर्क प्रयोग गरेर काठमाडौं नआइकन आइटीको काम गरेर तपाईंको घर, आँगनको स्वच्छ हावापानीमा बसेर काम गर्नसक्ने वातावरणको निर्माण अबको पुस्ताले गर्नेछ । अबको सरकारले गर्नेछ, अब आउने निर्वाचित नेतृत्वले गर्नेछ । सही शैक्षिक काउन्सिलको समस्या छ । त्यो समस्या विद्यालय विद्यालयमा गएर सही काउन्सिलर दिनेछु । आसन, भाषण र शासनमा महिलाहरु नपुगिकन महिला मुक्ति हुँदैन । तसर्थ आसन, भाषण र शासनमा महिलाहरुलाई पुर्‍याउन देशव्यापी नेतृत्व गर्नेछ ।’

अस्मिता थापा लिखु गाउँपालिकाको पूर्वउपाध्यक्ष तथा एमाले केन्द्रिय सदस्य हुनुहुन्छ । उहाँ एमालेको तर्फबाट युवा तथा महिला प्रतिनिधित्वको प्रतिकका रूपमा देखिनुभएको छ । जसले ओखलढुंगामा विकास, सूचना प्रविधि, सडक पूर्वाधार र महिला सशक्तीकरणका मुद्दालाई प्राथमिकतामा राख्नुभएको छ ।