काठमाडाैं । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ६ को भदौरेमा शृङ्खलाबद्ध व्यक्ति हत्याका घटना दोहोरिन थालेपछि वडा कार्यालयले हत्यालगायतका जघन्य अपराधमा संलग्नलाई कडा कावार्ही गर्न सरकारसँग माग गरेको छ ।
ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै विद्यमान कानुन अपर्याप्त रहेकाले हत्यालगायतका घटना बढेको भन्दै यो भन्दा कडा कावार्ही हुनुपर्ने माग गरिएको हो ।
भदौरेमा छोटो अवधिमा २ दम्पती र भदौरे ठेगाना भएकी एक एकल महिलाको चार्खुमा हत्या भएको थियो । पछिल्लो पटक माघ १३ गते चन्द्रविक्रम राई र चन्द्रमाया राई दम्पतीको हत्या भएको घटनास्थलमा सुरक्षाप्रमुखसहित प्रजिअ मंग्राती पुग्नुभएको थियो । वडाध्यक्ष बलराम कट्वालद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा विभत्स हत्याका श्रृङ्खलाले नागरिकमा सन्त्रास उत्पन्न भएको र राज्य संयन्त्र नै विफल भएको महसुस हुन थालेको उल्लेख छ ।
७ बुँदे ज्ञापनपत्रमा हत्यारालाई अविलम्ब समाएरमा हदैसम्मको सजाय व्यवस्था गर्दै पीडित परिवारलाई न्यायको अनुभूति गराउनु पर्ने माग गरिएको छ । यसअघि पनि भदौरेकै सोवितडाँडामा पुस १५ गते सोभितमान थापामगर र रत्नमाया थापामगरको बीभत्स हत्या भएको थियो । प्रहरीले मगर दम्पती हत्यामा संलग्न ४ जनालाई पक्राउ गरेर मुद्दा चलाइरहेको छ । एक महिना अन्तरमा एकै ठाउँमा एकै प्रकृतिको घटना घटेपछि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ।





प्रतिक्रिया दिनुहोस्