काठमाडाैं । नेपाल स्वास्थ्य स्वयंसेवक संघको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न भएको छ । अधिवेशनले बसन्ती महर्जनको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ ।
अधिवेशनमा देशभरका विभिन्न जिल्लाबाट सहभागी भएका स्वास्थ्य स्वयंसेवक महिलाहरूले आफूहरूले सेवाकालमा भोग्दै आएका पीडा, समस्या र चुनौतीहरूका विषयमा खुला रूपमा छलफल गरेका थिए । उनीहरूले न्यून प्रोत्साहन, कार्यभारको असमानता, सामाजिक सुरक्षाको अभाव, तालिम तथा क्षमता अभिवृद्धिको कमी लगायतका विषय उठाएका थिए ।
स्वयंसेवक महिलाहरूले लामो समयदेखि समुदायस्तरमा स्वास्थ्य सेवामा महत्वपूर्ण योगदान दिँदै आए पनि राज्यबाट अपेक्षित सम्मान, सुविधा र संरक्षण नपाएको गुनासो व्यक्त गरे । अधिवेशनमा सहभागीहरूले आगामी दिनमा यी समस्याहरूलाई एकीकृत रूपमा उठाई राज्यसमक्ष पुर्याउन नयाँ कार्यसमितिलाई आग्रह गरेका छन् ।
नव–निर्वाचित अध्यक्ष बसन्ती महर्जनले स्वयंसेवक महिलाहरूको भावना र अपेक्षालाई गम्भीरतापूर्वक लिएको बताउँदै सबै स्वयंसेवकले भोगेका समस्या समाधानका लागि संघ सक्रिय रूपमा अघि बढ्ने प्रतिवद्धता जनाइन् । उनले संघले नीति निर्माण तहसम्म पहुँच बढाई स्वास्थ्य स्वयंसेवक महिलाहरूका हकहितका विषयलाई प्राथमिकताका साथ उठाउने बताइन् ।
नयाँ कार्यसमितिले आगामी दिनमा संगठनलाई थप सशक्त बनाउँदै स्वयंसेवक महिलाहरूको पेशागत सुरक्षा, क्षमता विकास र सामाजिक मान्यताको पक्षमा पहल गर्ने जनाएको छ । अधिवेशनले संघलाई अझ व्यवस्थित, प्रभावकारी र स्वयंसेवक मैत्री बनाउने दिशामा महत्वपूर्ण निर्णयहरू गरेको सहभागीहरूको भनाइ छ ।





प्रतिक्रिया दिनुहोस्