Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


टाइगर कप भलिबल च्याम्पियनशीप: महिलातर्फको उपाधि न्यु डायमण्डले जित्यो

नेपाल पुलिस भने पराजित

286
Shares

काठमाडाैं । न्यु डायमण्ड युथ स्पोर्टस क्लबले छैठाैं टाइगर कप भलिबल च्याम्पियनसिपको उपाधि जितेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको फाइनल खेलमा न्यु डायमण्डले नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलमा न्यु डायमण्ड २५–११, २५–२२ र २५–१६ को सटमा विजयी भएको हो । न्यु डायमण्ड पहिलो पटक टाइगर कपको च्याम्पियन बनेको हो । न्यु डायमण्डले गत महिना सम्पन्न एनबिभए च्याम्पियनसिप र केएनपी राष्ट्रिय महिला भलिबल प्रतियोगितामा पनि पुलिसलाई नै पराजित गरेको थियो । यस प्रतियोगिताका ५ प्रतिष्पर्धा गरेको न्यु डायमन्डले एउटा पनि खेल नहारी उपाधि जित्न सफल भएको हो ।

उपाधिसँगै न्यु डायमण्डले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेको छ । द्वितीय भएको पुलिसले ३ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ र तृतीय भएको थाइल्याण्ड क्विन्सले २ लाख ६ हजार ६ सय ६६ रुपैयाँ पाएका छन् । न्यु डायमण्ड युथ स्पोर्टस क्लबकी मिडिल ब्लकर सुमित्रा रेग्मी च्याम्पियनसिपको महिलातर्फ सर्वोत्कृष्ट खेलाडी बनेकी हुन् । अन्य विधातर्फ पनि न्यु डायमण्डकी प्रतिभा माली उत्कृष्ट सर्भर, प्रगतिनाथ उत्कृष्ट सेटर, सुनिता खत्री उत्कृष्ट ब्लकर र कुमार राई उत्कृष्ट प्रशिक्षक घोषित भएका थिए। नेपाल पुलिसकी शान्तिकला तामाङ र थाइल्याण्ड क्विन्सकी पट्टिया जुआङ्गियन उत्कृष्ट स्पाइकर बनेका छन् ।

सुमित्राले २६ हजार ६ सय ६६ रुपैयाँ र अन्यले जनही ११ हजार ६ सय ६६ रुपैयाँ प्राप्त गरेका छन् ।