Logo १६ माघ २०८२, शुक्रबार | Fri Jan 30 2026


शहीदले देखाएको मार्गचित्रमा अघि बढ्न आवश्यक : कार्यवाहक प्रमुख डंगोल


91
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा सबै निकायको सहयोग र समन्वयमा एकीकृत योजना बनाई अगाडि बढ्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।

शहीद दिवसकाे अवसमा शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै कार्यवाहक प्रमुख डंगोलले शहीदहरूले देखाएको मार्गचित्रमा अघि बढ्नुपर्नेमा जाेड दिनुभएकाे हाे । उहाँले शहीदहरुले दिनुभएको बलिदानको जगमा टेकेर शासन, स्वतन्त्रता र स्वाधीनताको उपयोग गरिरहेको बताउनुभयो । विश्वको शासन व्यवस्थामध्ये उत्कृष्ट व्यवस्था र लोकतान्त्रिक शासन व्यवस्थाको अभ्यास शहीदहरुको बलिदानकै कारण सम्भव भएको बताउनुभएकाे छ।

उहाँले नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरुकै बलिदानका कारण सम्भव भएको जिकिर गर्नुभयो । कार्यवाहक प्रमुख डंगोलले यो उपलब्धि युवाहरूका लागि त्याग र समर्पण सम्झाउने दिन भएको बताउनुभएकाे छ । शहीदहरुको बलिदानबाट राजनीतिक नेता, कार्यकर्ता र आम नागरिकले प्रेरणा लिन सक्नुपर्ने बताउनुभयो । नागरिक अधिकार, समावेशिता र समावेशीकरणको प्रयोग शहीदहरूले नेपाल र नेपालीका लागि दिएको सुन्दर उपहारका रूपमा रहेको जिकिर गर्नुभयो ।

कार्यवाहक प्रमुख डंगोलले शहीदहरूबाट ऊर्जा लिएर व्यवस्था र शासन सञ्चालनमा दैनिक प्रभाव देखिने गरी काम गर्नुपर्नेमा जाेड दिनुभएकाे छ।