Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


निर्वाचनको लागि सरगमी बढ्यो (भिडियो रिपोर्ट)


0
Shares

बिबेक भण्डारी, नवलपुर ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि नवलपुर जिल्लामा सरगर्मी बढेको छ । दुई वटा निर्वाचन क्षेत्र रहेको यो जिल्लामा ३६ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन । आठ जना स्वतन्त्र उम्मेदवार रहेको नवलपुरमा नयाँ र पुराना दलहरुबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतिनिधिसभा निर्वाचनका लागि दुई वटा निर्वाचन क्षेत्र रहेको नवलपुरमा अधिकांश उम्मेदवार नयाँ छन् । सधैँ पुरानो अनुहारले मौका पाउने नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले समेत यसपालि नवलपुरमा दुवै क्षेत्रमा नयाँ उम्मेदवारलाई मौका दिइएको छ । ०७९ को प्रतिनिधिसभाको निर्वाचनमा दुवै क्षेत्र नेपाली कांग्रेसले जित हात पारेको नवलपुरमा यसपालि २६ वर्षका जेन–जीदेखि ७० कटेकासम्म चुनावी मैदानमा छन ।

नवलपुर क्षेत्र नं. १ मा तीनजना स्वतन्त्रसहित १६ जनाको उम्मेदवारी कायम भएको छ भने नवलपुर क्षेत्र नं. २ मा पाँचजना स्वतन्त्रसहित २० जना उम्मेदवारहरू चुनावी मैदानमा होमिएका छन् । तीमध्ये यसअघि प्रतिनिधिसभा निर्वाचनमा प्रतिनिधित्व गरिसकेको नेकपा एमालेका तिलबहादुर महत क्षेत्री पुराना अनुहार हुन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतम पुराना अनुहार हुन् । तर, गौतमले संसदमा प्रतिनिधित्व गर्ने मौका भने पाएका छैनन् । यी दुईजनाबाहेक चुनावी मैदानमा होमिएका बाँकी उम्मेदवार नयाँ अनुहार हुन् ।

नवलपुरको निर्वाचनका लागि रोचक क्षेत्रका रुपमा क्षेत्र नं. १ लाई लिइएको छ । नेपाली कांग्रेसको बलियो र पकड क्षेत्र मानिएको क्षेत्र नं. १ मा कांग्रेसले १८ वर्षपछि स्थानीय उम्मेदवारलाई मैदानमा उतारेकै कारण अहिले के होला भन्ने सबैको ध्यान केन्द्रित बनाएको छ । २०६४ देखि निरन्तर चुनाव जित्दै आएका बीपी पुत्र डा. शशांक कोइरालालाई हटाएर स्थानीय बालकृष्ण घिमिरेलाई उम्मेदवार बनाएको छ । कांग्रेसमा परिवर्तन कै कारण अहिले केहि परिवर्तन गर्न चुनावमा होमिएको घिमिरे बताउँछन ।

यो क्षेत्रमा एमालेले भागिरथ सापकोटा, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले लोकप्रसाद भुर्तेल र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राजन गौतमलाई उम्मेदवार बनाएका छन् । क्षेत्र नं. १ मै राष्ट्रिय स्वतन्त्र पार्टी गौतम अघिल्लो निर्वाचनमा उपबिजेता बनेका उनी अहिले फेरी चुनावमा घण्टी लिएर उम्मेदवारी दिएका छन् । एमालेले नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भागिरथ सापकोटालाई खडा गरेको छ । उनी पनि निर्वाचनको कडा प्रतिस्प्रर्धामा रहेको देखिन्छ ।क्षेत्र नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार डा. शशांक कोइरालाले २७ हजार ६७ मत पाएर सासंद बनेका थिए ।

एमालेका कृष्ण पौडेल २५ हजार ४७ र रास्वपाका उम्मेद्वार गौतमले २४ हजार ३ सय ५ मत प्राप्त गरेका थिए । नवलपुरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिच कडा टक्कर हुने आकलन गरिएको छ भने राप्रपा, श्रम संस्कृति पार्टी, उज्यालो नेपाल पार्टी पनि ठुला दलहरूको जितका लागि बाधक बन्ने देखिन सक्ने आकलन गरिएको छ ।