शुभकला राई, ओखलढुंगा ।
एक मात्र निर्वाचन क्षेत्र रहेको ओखलढुंगामा आसन्न प्रतिनिधिसभा निर्वाचनमा चुनावी सरगर्मी बढेको छ ।
विगतका निर्वाचनमा प्रतिष्पर्धा गर्दै आएका पुराना उमेदवारको सट्टामा यसपटक अधिकांश नयाँ अनुहार चुनावी प्रतिष्पर्धामा रहेका कारण पनि यहाँको चुनावी प्रतिष्पर्धालाई चासोपूर्वक हेरिएको छ ।
लामो समयदेखि कांग्रेस नेता रामहरि खतिवडा र एमाले नेता यज्ञराज सुनुवारबीचको प्रतिस्पर्धामा केन्द्रित रहने गरेको ओखलढुंगाको राजनीति यसपटक फेरिएको छ ।
कांग्रेसले खतिवडाको सट्टा कुमार लुइँटेललाई उम्मेदवार बनाएको छ भने एमालेले नेता यज्ञराज सुनुवार र पूर्व प्रदेश मन्त्री तथा प्रदेश सांसद अम्बिरबाबु गुरुङको दाबीका बीच ३० वर्षीया केन्द्रीय सदस्य अस्मिता थापालाई मैदानमा उतारेको छ । उनीहरु आफ्ना एजेण्डा र मुद्दाहरु बोकेर मतदातामा पुगको छन्। निर्वाचनमा आफ्नो उमेदवारीको आवश्यकताको पुष्टि गर्ने र मतदाता प्रभावित गर्ने प्रयास गरिरहेका छन् ।
एमालेले अस्मिता थापालाई उम्मेदवार बनाएपछि असन्तुष्ट भएका पूर्वमन्त्री गुरुङले एमालेबाट विद्रोह गरेर नेपाली कम्युनिष्ट पार्टीबाट उम्मेदवारी दिएका छन् । यता, राष्ट्रिय स्वतन्त्र पार्टीले पूर्व एआईजी विश्वराज पोखरेललाई चुनावी मैदानमा उतारेर प्रतिस्पर्धालाई थप आक्रामक बनाएको छ । उनीहरु पनि यसपटक आफ्नो पक्षमा नतिजा आउने बताउँदै आएका छन्।
यहाँ २ स्वतन्त्रसहित १५ जना उम्मेदवार चुनावी मैदानमा छन् । श्रम संस्कृति पार्टीबाट उद्धबकुमार राई, उज्यालो नेपालबाट जेन्जी अभियन्ता किशोरी कार्कीलगायत चुनावी मैदानमा उत्रिएका छन् ।
गएको निर्वाचनमा जिल्लामा प्रत्यक्षतर्फ कांग्रेसका उम्मेदवारले ३३ हजार ५ सय ५६ मत ल्याएर विजयी भएका थिए भने एमालेका उम्मेदवारले २६ हजार ७ सय ३८ मत ल्याएका थिए । यसपटक जिल्लामा १ लाख २२ हजार ७ सय १५ मतदाता कायम भएको छ । चुनावी माहोल रोचक बन्दै गएको ओखलढुंगामा फागुन २१ मा हुने निर्वाचनमा कसको पल्लाभारी हुने हो, त्यो भने हेर्न बाँकी छ ।





प्रतिक्रिया दिनुहोस्