काठमाडाैं । नालापानी किल्लामा लडेका कम्पनी कमाण्डर वीर योद्धा सुवेदार दयाराम खड्का लगायत युद्धका सबै वीर सपूतहरूलाई राज्यले आधिकारिक पहिचान दिनुपर्नेमा सरोकारवालहरुले जोड दिएका छन् ।
बिहीवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा बोल्दै सरोकारवालाहरुले यस्तो बताउनुभएको हो । बैठकमा इतिहासविद् डा. श्रीरामप्रसाद उपाध्यायले खड्काको राष्ट्रिय योगदानको विषयलाई विद्यालय पाठ्यक्रममा समावेश गरिनुपर्ने बताउनुभयो ।
उहाँले नालापानीको लडाइँ नेपालको ऐतिहासिक गौरव भएको उल्लेख गर्दै युद्धमा प्रयोग भएका हतियारहरुलाई समेत संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले दयाराम खड्कालाई राष्ट्रिय विभूति घोषित गर्न समेत माग गर्नुभयो ।
दयाराम खड्का स्मृति प्रतिष्ठान प्यूठानका अध्यक्ष कमलबहादुर खड्काले दयाराम खड्काको स्मृतिमा निर्मित प्रतिष्ठानको भौतिक संरचना समेत जिर्ण अवस्थामा रहेको भन्दै राज्यले त्यसको संरक्षण गर्नुपर्ने माग राख्नुभयो । साथै नेपालको एकीकरण र संरक्षणमा खड्काले दिएको योगदानको लागि उहाँलाई राष्ट्रिय विभूति घोषित गरी प्यूठानमै शालिक निर्माण गर्नुपर्ने माग राख्नुभयो ।
प्रतिष्ठानका सदस्य वेदबहादुर खड्काले दयाराम खड्काको युद्ध कौशल र योगदानको कदर गर्दै राष्ट्रिय विभूति घोषणा गर्न माग गर्नुभयो । खड्काले यु्द्धका क्रममा प्रयोग गरेका हातहतियार समेत संरक्षण गर्नुपर्ने उहाँको माग छ । बैठकमा बोल्ने अधिकांश सांसदहरुले नालापानी युद्धको पत्रहरूमा थप अध्ययन, अनुसन्धान गर्र्दै विज्ञहरूको सुझावका आधारमा राष्ट्रिय विभूति घोषणा गर्ने प्रक्रिया अगाडि बढाउन सकिने धारणा राख्नुभएकाे छ ।





प्रतिक्रिया दिनुहोस्