Logo १५ माघ २०८२, बिहिबार | Thu Jan 29 2026


पोखरामा जारी टाइगर कप भलिबल च्याम्पियनसिपमा आर्मी र पुलिस विजयी


156
Shares

काठमाडौं । नेपाल आर्मीले छैठौं टाइगर कप भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ पर्वत जिल्ला भलिबल संघलाई पराजित गरेको छ ।

पोखरामा जारी च्याम्पियनसिपको छैठौं दिन बुधबार भएको चौथो तथा अन्तिम खेलमा आर्मीले पर्वतलाई ३–२ सेटले पराजित गरेको हो । पहिलो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको आर्मीले दोस्रो सेट भने १५–२५ ले गुमायो । तेस्रो सेटमा २५–२२ को जित निकाल्दै अग्रता बनाएको आर्मीले चौथो सेट १३–२५ ले गुमाएपछि खेल पाँचौँ सेटमा पुगेको थियो । निर्णायक पाँचौँ सेटमा आर्मीले २०–१८ को जित निकाल्दै खेल आफ्नो पक्षमा पार्यो ।

जितसँगै आर्मीले चार खेलबाट पाँच अंक जोडेको छ । पर्वतले समान चार खेलबाट ९ अंक बनाएको छ । चार खेल खेलेको गण्डकीको पनि नौ अंक छ । त्यस्तै, चार खेल खेलेको पुलिसको सात अंक छ । एपीएफको ६ अंक छ भने माल्दिभ्स अंकविहीन भएको हो ।

यसअघि बुधबारै भएको पुरुषतर्फको अर्को खेलमा नेपाल पुलिस क्लबले एपीएफलाई पराजित गरेको छ । पुलिसले २५–२२, २८–२६ र २५–१५ को सोझो सेटमा जित निकालेको हो । यस्तै महिलातर्फ टिप–टप न्यु डायमण्ड युथ स्पोट्र्स क्लबसँग ३–० को सोझो सेटमा पराजित भएसँगै थाइल्याण्ड क्विन्स प्रतियोगिताबाट बाहिरिएको छ ।

नेपाल पुलिस क्लब भने फाइनलमा प्रवेश गरेको छ । न्यु डायमण्डले १२ अंक जोड्दा चार खेलबाट सात अंक जोडेको पुलिसले अन्तिम दुईको यात्रा तय गरेको हो । थाइल्याण्ड क्विन्सले चार खेलबाट ६ अंक जोडेको हो । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भएको च्याम्पियनसिपमा पुरुषतर्फ ६ र महिलातर्फ ५ टोलीको सहभागिता रहेको छ ।