Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


बाझाङमा मतदातालाई समस्या (भिडियाे रिपोर्ट)


0
Shares

ललित बहादुर सिंह, काठमाडौं ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन एकै दिनमा गर्ने तयारी भैरहेको छ । तर हिमाली जिल्लाका मतदातालाई भने चिसो बढेसंगै मतदानका लागि समस्या हुने देखिएको छ ।

चिसो छल्न बेँसी झरेका सर्वसाधारण मतदान गर्न घर पुग्न नसक्ने बताउन थालेका छन । सुदूरपश्चिम प्रदेशको हिमाली जिल्ला बझाङको उच्च हिमाली क्षेत्रमा बसोबास गर्दै आएका समुदाय जाडो छल्न बेँसी झरेका छन् । सबै राजनीतिक दलको चुनाव प्रचार प्रसार तिब्र गतिमा गरिरहेका छन् तर बेसी झरेका मतदाता कसरी भोट हाल्न जाने भन्ने चिन्तामा छन् ।

बझाङको साईपाल, सुर्मा, बुङ्गलको दहबगर, तलकोट, छविस, मष्टा, छान्नाका अधिकांश हिमाली क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरू अहिले बेसीतिरै छन् । उनीहरुले फागुन २१ मा हुने निर्वाचनमा मतदानमा जान मात्रै होइन, प्रचार प्रसारका गतिविधिमा सहभागी हुन पनि नसक्ने बताउँछन् ।

बझाङको सबै भन्दा बिकट मानिने साइपाल गाउँपालिकामा हिमपातका कारण आवतजावत गर्न कठिन हुने भएको छ । सदरमुकाम चैनपुरबाट करीब तीन दिन पैदल हिड्नु पर्ने अवस्था रहेको छ । १२ वटा पालिका रहेको बझाङमा साइपाल गाउँपालिका सडक सञ्जालमा जोडिन पनि बाँकी छ । यहाँका अधिकाँश बासिन्दा चिसो छल्न बेसी र सदरमुकाम चैनपुर झरेका छन् । उनीहरु घर फर्किन नसक्ने भएकाले मतदान गर्नेमा पनि आशंका ब्यक्त गर्छन ।

एउटा मात्रै निर्वाचन क्षेत्र रहेको बझाङमा १ सय ३७ वटा मतदानस्थल र १ सय ८९ वटा केन्द रहेका छन् । प्रतिनिधिसभा निर्वाचनमा बझाङका १२ वटा पालिकाका १ लाख २६ हजार ९ सय ३ जना मतदाताले मतदान गर्न पाउने छन् । अहिले प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्लाका बिभिन्न मतदान स्थाल र केन्दको स्थलगत अनुगमन चलिरहेको छ । हिमपातले मतदान अवरुद्ध हुने अवस्थामा निर्वाचन आयोगसंगको समन्वयमा बिशेष भुमिकाबाट मतदान गर्न सहज बनाउनतर्फ लाग्ने मुख्य निर्वाचन अधिकृत सुवर्णमान बनेपाली बताउनुहुन्छ ।

प्रतिनिधिसभा सदस्यका लागि बझाङबाट मुख्य दल नेपाली काँग्रेस, एमालेलगायत सात दलहरूले उम्मेदवारी दर्ता गरका छन् । एक प्रतिनिधिसभा क्षेत्र भएको बझाङ जिल्लामा अधिकाँश मतदाताहरू हिमाली क्षेत्रमा बसोवास गर्दै आएका छन् । उनीहरुलाई फागुन २१ मा मतदानमा सहभागी गराउन गराउने चुनौती भने कायम नै छ ।