Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


ओखलढुंगाकाे भदौरेमा दम्पतीकाे विभत्स हत्या


754
Shares

ओखलढुंगा । ओखलढुंगाकाे चिशंखुगढी गाउँपालिका-६ को भदौरेमा दम्पतीकाे हत्या भएको छ ।

भदौरेमा दम्पतीकाे हत्या भएको १ महिना नबित्दै फेरि अर्को दम्पतीकाे विभत्स हत्या भएको हाे । भदौरेको बोहोरे गाउँमा पसल सञ्चालन गर्दै आएका अन्दाजी ८० वर्षीया चन्द्रविक्रम राई र चन्द्रमाया राई दम्पतीको साेमबार राति अज्ञात समूहले विभत्स हत्या गरेकाे प्रहरीले बताएकाे छ । घरमा श्रीमान-श्रीमती मात्रै बस्दै आएका राई दम्पतीको हत्या पश्चात घरबाट लुटपाट समेत भएको स्थानीयको अनुमान छ ।

हत्याकाे बारेमा खबर पाएलगत्तै जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट प्रहरी नायव उपरीक्षकको कमाण्डमा घटनास्थलमा प्रहरी टोली पुगिसकेको छ । प्रहरीले हाल प्रारम्भिक अनुसन्धान गरिरहेको छ । नेपाल प्रहरीको प्रदेश प्रहरी कार्यालय धरानबाट तालिम प्राप्त कुकुर समेत झिकाइएको प्रहरीले बताएकाे हाे ।

त्यस्तै, यसअघि गत पुस १५ गते पनि भदौरेकै सोवितडाँडामा सोभितमान थापामगर र रत्नमाया थापामगरको बीभत्स हत्या भएको थियो । हत्यापश्चात लुटपाट समेत भएको थियो । प्रहरीले मगर दम्पती हत्यामा संलग्न ४ जनालाई पक्राउ गरेर मुद्दा चलाइरहेको छ । एक महिना अन्तरमा एकै ठाउँमा एकै प्रकृतिको घटना घटेको हो ।