Logo १३ माघ २०८२, मंगलबार | Tue Jan 27 2026


सरकारले आगामी चुनावको मुख्य सुरक्षा चुनौती आँकलनसहित सतर्कता बढायो


0
Shares

काठमाडौं । सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावका लागि थप सुरक्षा सतर्कता बढाएको छ ।

चुनावमा मुख्य चुनौतीका रूपमा राजनीतिक दलका प्रतिस्पर्धीबीच हुन सक्ने विवाद तथा झडप, नवयुवा-राजनीतिक दलबीच हुन सक्ने विवाद र खुला सीमानाका कारण उत्पन्न हुन सक्ने परिस्थितिलाई मुख्य सुरक्षा चुनौती आँकलन गरिएको हो । चुनावी सरगर्मी बढ्दै जाँदा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारबिच हुने चुनावी कार्यक्रम, उम्मेदवारको आवतजावत र अन्य कुनै पनि सुरक्षा चुनौती नहोस् भनी सुरक्षा निकायको परिचालन गरिएको गृह मन्त्रालयले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले मुख्यगरी उम्मेदवारको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षा निकायको परिचालन गरिएको बताउनुभयो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता अबिनारायण काफ्लेले उम्मेदवार विशेष सुरक्षाका लागि जिल्ला सुरक्षा समितिमार्फत विशेष टोली नै परिचालन गरिएको बताउनुभएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभाग संयुक्त तथा छुट्टाछुट्टै रूपमा परिचालन गरिएको छ । सरकारले गृह सचिवको नेतृत्वमा केन्द्रीय सुरक्षा कमान्ड गठन गरेको छ । राष्ट्रिय सुरक्षा परिषद्को बैठक बसेर गृहका सचिव राजकुमार श्रेष्ठको नेतृत्वमा गठित केन्द्रीय कमान्ड पोस्टमा चार वटै सुरक्षा निकायका अधिकारीहरू सम्मिलित छन् ।

यो कमान्ड पोस्ट केन्द्रीय सुरक्षा समितिको निर्देशनमा सञ्चालन हुने भएको छ । यसका अतिरिक्त चार वटै सुरक्षा निकायले आफ्ना कार्यालयमा कमान्ड पोस्टहरू राखेर काम थालिसकेका छन् । ७७ वटै जिल्लामा प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा पनि सुरक्षा संयन्त्रलाई सक्रिय पारिएको मन्त्रालयले जनाएको हो ।