काठमाडाैं ।
राजनीतिक दलहरुले फागुन २१ को निर्वाचनका लागि देशव्यापी प्रचार प्रसार शुरु गरिसकेका छन् ।
चुनावी मैदानमा पुगेका दलका नेता कार्यकर्ताहरुले एकअर्का विरुद्ध आलोचना गर्ने र होच्याउने बाहेक ठोस एजेण्डामा छलफल गरेको देखिदैन । जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भयो र बीचमै निर्वाचन हुने स्थिति बन्यो तर दलहरुले न आन्दोलनले उठाएका मुद्दा न त यसअघि वाचा गरिएका विषयलाई एजेण्डा बनाएका छन् ।
भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन भष्ट्राचार, बेथिति, सुस्त सेवा प्रवाहलगायतका मुद्दामा केन्द्रीत थियो । सरकारले जनताका मुद्दा संवोधन गर्न नसकेको भन्ने आक्रोश सडकमा पोखिएको थियो । त्यस अगाडि नेपाली कांग्रेस र एमालेले संविधान संशोधन, सेवा प्रवाहमा चुस्तता लगायतका ७ बुँदे सहमति गर्दै सत्ताको बाँटफाँट गरेका थिए ।
तर सत्ता बाँडफाँड गर्दाका एजेण्डा न सरकारमा हुँदा लागू गरे नत अहिले ती विषयको उठान नै भएको छ । उता, पटक पटक गठबन्धन परिवर्तन गर्दै जम्मा ३२ सिट मात्रै हुदाँ समेत सत्तामा पुगेको तत्कालिन नेकपा माओवादीले सुशासन र भष्ट्राचार नियन्त्रणको विषयमा आफुहरु उभिएको भन्दै सार्वजनिक मञ्चलाई उपयोग गरि नै रह्यो ।
त्यसो त वैकल्पिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी समेत आफ्ना एजेण्डा भन्दा पुरानै दलहरुलाई गाली गर्नमा ब्यस्त देखिएको छ । यसरी चुनावको प्रचार प्रसारमा जुटिरहेका दलहरु के एजेण्डा विहिन भएकै हुन त भन्ने प्रश्न उठ्न थालेको छ ।





प्रतिक्रिया दिनुहोस्