दाङ । बुवा गम्भीर बिरामी हुँदा समेत विदा नपाएको पीडाबीच दाङमा प्रहरी जवान हरीबहादुर जीसीले आत्महत्या गरेको घटनाले सुरक्षा संगठनभित्रको मानवीय संवेदनशीलता र नेतृत्वको जवाफदेहितामाथि गम्भीर प्रश्न उठाएको छ।
यो विषयलाई सामान्य घटनाका रूपमा टार्न नहुने भन्दै व्यापक छानबिन गरी सम्बन्धित हाकिममाथि ‘दूरुत्साहन मुद्दा’मा कारबाही हुनुपर्ने मागसहित जनआवाज उठेको छ।
घटनापछि सामाजिक सञ्जाल, मानवअधिकारकर्मी र पूर्व–सुरक्षाकर्मीहरूले संगठनभित्रको कार्यसंस्कृति, विदा व्यवस्थापन र मानसिक स्वास्थ्यप्रतिको दृष्टिकोण पुनरावलोकन गर्नुपर्ने बताएका छन्। “आत्महत्या रोकथामका नाममा जनचेतना कार्यक्रम गर्दै दौडिने तर आफ्नै जवानको जीवन सुरक्षा गर्न नसक्ने अवस्था स्वीकार्य हुँदैन,” एक अधिकारकर्मीले भने, “कन्सर्ट र औपचारिक कार्यक्रमले मनोबल बढ्दैन, संवेदनशील नेतृत्व र समयमै सहानुभूति चाहिन्छ।”
आलोचकहरूले जवान जीसीको विदा निवेदन प्रक्रिया, निर्णय लिने तह र आदेश दिने जिम्मेवार अधिकारीहरूको भूमिकामाथि निष्पक्ष अनुसन्धान अनिवार्य भएको बताएका छन्। परिवारको आपत्कालीन अवस्थालाई बेवास्ता गरिनु संस्थागत असंवेदनशीलताको उदाहरण भएको दाबी उनीहरूको छ।
यता, प्रहरी संगठनले घटनाप्रति दुःख व्यक्त गर्दै आन्तरिक छानबिनको तयारी भइरहेको जनाएको छ। तर पीडित पक्ष र नागरिक समाजले आन्तरिक जाँच मात्रै पर्याप्त नहुने, स्वतन्त्र छानबिनसहित दोषी ठहरिएमा कडा कारबाही आवश्यक रहेको जोड दिएका छन्।
यो घटनाले सुरक्षा संगठनभित्र मानसिक स्वास्थ्य, मानवीय व्यवहार र आदेश–पालनको सन्तुलनबारे गहिरो बहस सुरु गराएको छ। जिम्मेवार तहबाट स्पष्ट जवाफ र ठोस सुधार नआए यस्ता दुखद घटना दोहोरिन सक्ने चेतावनीसमेत दिइएको छ।





प्रतिक्रिया दिनुहोस्