Logo २९ फाल्गुन २०८२, शुक्रबार | Fri Mar 13 2026


राष्ट्रिय झण्डाको गरिमा र मर्यादालाई ध्यानमा राख्न राजनीतिक दल तथा उम्मेदवारलाई गृह मन्त्रालयको आग्रह (विज्ञप्तिसहित)


195
Shares

काठमाडौं । गृह मन्त्रालयले राष्ट्रिय झण्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानून बमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।

मन्त्रालयले आइतबार राति एक विज्ञप्ति जारी गर्दै प्रचलित कानून बमोजिम प्रयोग नगरेको र यसको दुरुपयोग भएको पाइएमा कानून बमोजिम कारबाही हुने चेतावनी दिएको हो । निर्वाचन आचारसंहितामा राजनीतिक दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट र जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्न बाहेक निर्वाचन प्रचारप्रसार गर्दा झण्डाको प्रयोग गर्न गराउन नहुने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी मुलुकी अपराधसंहिता, २०७४ को दफा १५१ मा नेपालको राष्ट्रिय झण्डाको अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ वा अवस्थामा नेपालको झण्डाको प्रयोग गर्न नहुने व्यवस्था रहेको र यसको उल्लङ्घन भएमा सजायको व्यवस्था समेत गरिएको छ ।