काठमाडौं ।
पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीको गुल प्लाजा सपिङ मलमा लागेको आगलागीमा परी मृत्यु हुनेको सङ्ख्या ६७ पुगेको अधिकारीहरूले बताएका छन् ।
सबै पीडितहरूको शव परीक्षण (पोस्ट–मार्टम) सम्पन्न भएपछि यो तथ्यांक सार्वजनिक गरिएको हो । मुख्य प्रहरी सर्जन सुमैय्या सैयद तारिकका अनुसार घटनाको पाँचौँ दिनसम्म कुल ६७ वटा शवको पहिचान र परीक्षण प्रक्रिया पूरा गरिएको छ ।
जसमध्ये ६ जनाको अनुहारको आधारमा, एक जनाको परिचयपत्र वा आंशिक अनुहारको आधारमा र आठ जनाको डीएनए परीक्षणमार्फत पहिचान भएको छ ।
सिन्ध स्वास्थ्य विभागका प्रवक्ताले सबै ६७ पीडितहरूको शव परीक्षण सम्पन्न भएको पुष्टि गरेका छन् । रेस्क्यु ११२२ का प्रवक्ता हसानुल हसिब खानले बताए अनुसार शहरी खोज तथा उद्धार टोलीले भग्नावशेषमुनि दबिएका पीडितहरू फेला पार्न थर्मल इमेजिङ क्यामेरा र लोकेटर जस्ता अत्याधुनिक उपकरणहरू प्रयोग गरिरहेका छन् ।
खानका अनुसार क्यामेराले १,२०० डिग्री सेल्सियससम्मको तापक्रम पत्ता लगाएका थिए । यद्यपि, सपिङ महल भित्रको वास्तविक तापक्रम त्योभन्दा पनि उच्च रहेकाले पीडितको अवशेषको अवस्था प्रभावित भएको छ । विगत तीन दिनदेखि भवनलाई चिस्याउने (कुलिङ) कार्य जारी रहेको उनले बताए ।





प्रतिक्रिया दिनुहोस्