Logo १० माघ २०८२, शनिबार | Sat Jan 24 2026


सुदूर पहाडमा हिमपात, जनजीवन प्रभावित


234
Shares

बैतडी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसहित हिउँदे वर्षा भइरहेको छ ।

बैतडीको उच्च लेकाली भेग खोड्पे, श्रीभावर, ढोल्यामोड, मुस्याचोर, सतबाँझ, देहिमाडौँलगायत क्षेत्रमा हिमपात भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए ।

वर्षासँगै हिमपात भइरहे पनि राजमार्गहरूमा कुनै समस्या नरहेको प्रहरी निरीक्षक सिंहले बताए । दार्चुलाको व्यास र अपिहिमाल क्षेत्रमा हिमपात भएको छ । डडेलधुरा सदरमुकामका साथै हगुल्टे, साहुखर्क, भातकाँडा क्षेत्रमा हिमपात भएको प्रहरीले जनाएको छ ।

यो वर्ष पहिलोपटक हिउँदे वर्षा र हिमपात भएपछि यहाँका किसान खुसी भएका छन् । गएको चार महिनादेखि वर्षा नहुँदा यहाँ गहुँबालीलगायतका हिउँदे बाली सुक्दै गएका थिए । हिमपात र वर्षा भएपछि किसानहरू बाली सप्रिने भन्दै खुसी भएका छन् । हिमपातका कारण अत्यधिक चिसो बढेको छ ।

यसैबीच, हुम्लामा पनि हिमपात भएको भएको छ । गतभदौदेखि वर्षा नभएको हुम्लामा वर्षाभएसँगै यस वर्षकै पहिलोपटक हिउँ पर्न थालेको हो । निकै लामो समय हिउँ नपर्दा चिन्तित भएका किसान हिउँ पर्न थालेपछि खुसी भएका छन् ।

हुम्लाको तल्लो क्षेत्रमा भने वर्षा भइरहेको छ । माथिल्लो हुम्ला सिमकोट नाम्खालगायत क्षेत्रमा अहिले हिमपात भइरहेको छ ।हिमपातले जनजीवन कष्टकर बनेको छ । हिमपात भएसँगै नाम्खा गाउँपालिका र उक्त गाउपालिका हुँदै हिल्सा जाने बाटो पूर्णरुपमा बन्द भएको छ ।