काठमाडाैं । साताको अन्तिम कारोबार दिन शेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ ।
दिनभर घटेको बजार साढे २ बजेपछि उकालो लागेर ९.२३ अंक बढ्दै नेप्से २७१४.६१ विन्दुमा पुगेको हो । परिसूचक बढेसंगै कारोबार रकम पनि बढेको छ ।
नेप्सेमा रहेका १३ वटा उपसमूह मध्ये आज १० वटा उपसमूहको परिसूचक बढेको छ भने ३ वटा उपसमूहको परिसूचक घटेको छ । वित्त उपसमूहको परिसूचक सर्वाधिक २.३८ प्रतिशत बढ्दा विकास बैंक, होटल तथा पर्यटन र उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १ प्रतिशत भन्दा बढी बढेका छन् ।
व्यापार उपसमूहको परिसूचक भने आज सर्वाधिक १.१५ प्रतिशतले घटेको छ । १६२ वटा स्टकको मूल्य बढेको बजारमा ८८ वटा स्टकको मूल्य घटेको छ । आज एसवाई प्यानल, त्रिशुली जलविद्युत कम्पनी, श्रीनगर एग्रीटेक इण्डष्ट्री र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
यस्तै एक्सेल डेभलपमेन्ट बैंकको शेयरमूल्य पनि करिब १० प्रतिशतले बढेको छ । तर कालिका पावर कम्पनीको शेयरमूल्य भने आज सर्वाधिक ६.२५ प्रतिशतले घटेको छ । दिनभरमा ३३२ स्टकको एक करोड ९० लाख ७५ हजार कित्ता शेयर ९ अर्ब ७ करोड ३९ लाख ७८ हजार रुपैयाँबराबरमा खरिद विक्री भएको छ ।
कारोबार रकमका आधारमा आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक ४० करोड ८२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।





प्रतिक्रिया दिनुहोस्