काठमाडौं । राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८२/०८३ को पहिलो त्रैमासिक अवधिको कृषि, उद्योग तथा निर्माण क्षेत्रको मूल्य र उत्पादन सम्बन्धी महत्त्वपूर्ण तथ्यांक सार्वजनिक गरेको छ ।
कार्यालयले एक विज्ञप्ति जारी गर्दै कृषि उत्पादकको मूल्यमा निरन्तर वृद्धि देखिएको जनाएको हो। औद्योगिक उत्पादनमा भने वृद्धि हुने अनुमान गरिएको छ। त्यस्तै, निर्माण क्षेत्रको लागत मूल्य त्रैमासिक आधारमा घटेको हो । कार्यालयल आर्थिक वर्ष २०८२/०८३ को प्रथम त्रैमासिकमा कृषि उत्पादक मूल्य सूचकाङ्क १ सय ९३ दशमलव ७२ कायम भएको बताएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ दशमलव ५० प्रतिशतले बढी हो ।
कार्यालयका अनुसार, यस वृद्धिको मुख्य कारण अन्न बालीहरू (मकै-धान-कोदो)को उत्पादक मूल्यमा भएको वृद्धि छ । जसले सूचकांकमा करिब ५८ प्रतिशत भार ओगट्ने जनाएको छ । साथै, दूध, अण्डा र माछा जस्ता पशुपन्छीजन्य उत्पादनको मूल्य वृद्धिले पनि यसमा योगदान पुर्याएको हो । यो वृद्धिले कृषकको आम्दानीमा सामान्य सुधारको सङ्केत गरे पनि आगामी दिनमा खाद्य मुद्रास्फीतिमा केही दबाब पर्न सक्ने सम्भावनालाई सूचित गरेको छ । प्रथम त्रैमासिकमा समग्र औद्योगिक उत्पादक मूल्य सूचकाङ्क करिब १ सय ६४ दशमलव २६ कायम भएको छ । यो अघिल्लो वर्षको सोही त्रैमासको तुलनामा करिब ३ प्रतिशतले वृद्धि भएको हो । जसले कच्चा पदार्थ, ऊर्जा तथा श्रम लागतका कारण सञ्चित लागत दबाबलाई प्रतिबिम्बित गर्दछ ।
सिमेन्ट, वनस्पति तेल, सुर्तीजन्य उत्पादन, साबुन तथा डिटर्जेन्ट, केही खाद्य वस्तु र पेय पदार्थजस्ता उपभोगमुखी उद्योगहरूमा मूल्य वृद्धि बढी केन्द्रित देखिएको कार्यालयले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्