Logo ६ माघ २०८२, मंगलबार | Tue Jan 20 2026


काठमाडौंका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता


676
Shares

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्ष तर्फको उम्मेदवारी दर्ता गर्न काठमाडौंका १० क्षेत्रका निर्वाचन अधिकृतको कार्यालयमा चहलपहल शुरु भएको छ ।

क्षेत्र-१ को कार्यालय काठमाडौं महानगरपालिका-३१ स्थित नयाँबानेश्वरमा रहेको सहकारी प्रशिक्षण केन्द्रको कार्यालयमा स्थापना गरिएको हाे । क्षेत्र -२ कार्यालय कागेश्वरी मनोहरा नगरपालिका-५ स्थित थली चौरमा रहेको नगरपालिका भवनमा स्थापना गरिएको काठमाडौंका जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईले जानकारी दिनुभयो । क्षेत्र-३ को कार्यालय गोकर्णेश्वर नगरपालिका-४ स्थित वडा कार्यालयमा स्थापना गरिएको छ । क्षेत्र-४ को कार्यालय बूढानीलकण्ठ नगरपालिका-२ चपलीस्थित ज्येष्ठ नागरिक समाज भवनमा स्थापना गरिएको छ । क्षेत्र-५ को कार्यालय टोखा नगरपालिका-५ स्थित श्री समाज भवनमा स्थापना गरिएको छ ।

क्षेत्र-६ कार्यालय तारकेश्वर नगरपालिका-६ धर्मस्थलीस्थित नगरपालिका भवनमा गरिएको छ । क्षेत्र-७ को कार्यालय काठमाडौँ महानगरपालिका- १६ खुसीबु, बालाजुस्थित बहुउद्देश्यीय मार्शल आर्टस् केन्द्र (जुडो हल)मा स्थापना गरिएको छ । क्षेत्र-८ को कार्यालय नागार्जुन नगरपालिका- ५ स्थित नगरपालिका भवनमा गरिएको छ । क्षेत्र- ९ को कार्यालय चन्द्रागिरी नगरपालिका-१२ बलम्बुस्थित नगरपालिका भवनमा स्थापना गरिएको छ । क्षेत्र- १० को कार्यालय कीर्तिपुर नगरपालिका-२ बाघ भैरवस्थित-२ को कार्यालयमा स्थापना गरिएको छ ।

काठमाडौंका १० वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि दर्ता गराउन चाहनेको आउन थालेका छ । उम्मेदवारी दर्ताका लागि सुरक्षालगायत सबै तयारी पनि पूरा भएको निर्वाचन आयोग, जिल्ला निर्वाचन अधिकारीको कार्यालय, काठमाडौँंले जनाएको हाे। उम्मेदवारी दर्ताका लागि मंगलबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्म काठमाडौंका १० वटासँगै देशैभरीका १ सय ६५ वटै निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारले मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम जारी रहने भएकाे छ । साँझ ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारकाे सूची प्रकाशन हुने कार्यक्रम रहेकाे हाे ।

माघ ७ गते बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म भने मनोनयन पत्र दर्ता भएको उम्मेदवारकाे विरोधमा उजुरी दिने अवधि निर्धारण गरिएको छ ।