एजेन्सी । स्पेनको दक्षिणी भागमा दुई वटा उच्च गतिको रेल एक-आपसमा ठोक्किँदा २१ जनाको मृत्यु भएको छ।
सोही दुर्घटनामा परी २५ जना गम्भीर घाइते भएका हुन् । स्पेनको रेल निकाय एडीआईएफले आइतबार राति मालागाबाट राजधानी म्याड्रिडतर्फ जाँदै गरेको एक उच्च गतिको रेल कोर्डोबाको एडामुज नजिक ट्र्याकबाट चिप्लिएर अर्को ट्याकमा पुगेको जनाएको छ । सोही क्रममा विपरीत दिशाबाट आइरहेको अर्को रेलसँग ठोक्किँदा दुवै रेल ट्याकबाट खसेका हुन् ।
स्पेनको गृह मन्त्रालयले हालसम्म २१ जनाको मृत्यु पुष्टि गरेको छ । एन्डालुसिया क्षेत्रको आपतकालीन सेवाले २५ जना गम्भीर रूपमा घाइते भएको बताएको हो । दुर्घटनापछि एन्डालुसिया क्षेत्रबाट म्याड्रिडतर्फका रेल सेवा स्थगित गरिएको छ । कोर्डोबा, सेभिल्ला, मालागा र हुवेल्भाबाट चल्ने रेल सेवा सोमबारसम्म बन्द रहने एडीआईएफले जनाएको हो ।





प्रतिक्रिया दिनुहोस्